राजनीति

सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

इकागज |
चैत २१, २०७७ शनिवार २०:३ बजे

फाइल तस्बिर

उदयपुर  : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।

गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं १ को भेलामा उनले भने, “नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक संकटसँगै सरकार पनि संकटमा परेको छ ।”


महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई संकटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गर्नुभयो ।

“पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पुर्‍याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ”, उनले भने । 

महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्‍न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले अहिले देशमा राजनीतिक संकट कम्युनिष्ट नेतृत्वको सरकारले ल्याएकाले अब कम्युनिष्टबाट देशको समस्या समाधान नहुने बताए । 

कांग्रेसका नेता भीष्मराज आङेम्बेले भने, “जब-जब देशमा राजनीतिक संकट आएको छ । त्यसको समाधान कांग्रेसले नै गरेको छ । त्यसैले अब कांग्रेसले सरकारको नेतृत्व लिने बेला आएको छ ।” (रासस
 


Author

थप समाचार
x