राजनीति

कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार ढाल्न एमालेका तीन मन्त्रीले राजिनामा दिँदै

लक्ष्मी भण्डारी |
चैत २२, २०७७ आइतबार १६:२५ बजे

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई राजिनामा गर्न लगाउने निर्णय गरेको छ । आइतबार बसेको दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई  राजीनामा गराउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार मन्त्रीहरू अघि बढेमा सरकारमा सहभागी तीन जना मन्त्रीहरूले भोली(सोमवार) सम्म राजीनामा दिनसक्ने बैठकमा सहभागी एक सांसदले जानकारी दिए । कर्णाली सरकारमा सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजिनामा दिने तयारी भएको बैठकमा सहभागी सांसदले बताए । 

‘भोली दिउँसो सम्म मन्त्रीहरुले राजिनामा दिनेछन् उनीहरुलाई राजिनामा गर्न निर्देशन गरिएको छ’ उनले भने, ‘त्यसपछि २४ गते संसदीय दलको बैठक बस्नेछ ।’ अन्यत्र भन्दा यहाँको जनताको आवश्यकता अनुसार अघि बढ्न दल एकमत भएको उनको भनाइ छ । बैठकमा एमालेको नेतृत्वमा सरकार गठन गर्नको लागि एमालेलाई एकताबद्ध बनाएको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी गराए । 


मन्त्रीको राजिनामाको विषयमा सोधिएको प्रश्नमा भने भने त्यति खुल्न चाहेनन् । ‘यसबाट तपाईहरु के बुझ्नुहोस भने सरकारमा रहेका उहाँहरूले बैठकको निर्णयअनुसार व्यवहार गर्नुहुन्छ’ दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कँडेलले भने, ‘बैठकमा मन्त्रीहरुको राजीनामाबारेमा चर्चा भएको कुरा साँचो हो ।’ यता, संसदीय दलका नेता कंडेलले चैत ४ गते भएको कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा हेरफेर नभएको बताए ।

आजको बैठकमा एमालेको सबै सांसद सहभागी थिए । ‘एमालेले समर्थन फिर्ता लिएको अवस्थामा पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहले विश्वासको मत लिन्छु भन्ने कुराले सकारात्मक संकेत जादैन’ उनले भने,  ‘त्यसले समयको बिलम्ब मात्र हुन्छ ।’ बैठकले एमालेको विधान संशोधनको मस्यौदा तयार गर्नको लागि प्रमुख सचेतक गुलाबजंग शाहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितको सदस्यमा करविर शाही र मिनासिंह रखाल रहेका छन् । आजको संसदीय दलको बैठकले एमालेको एकता गराएको सांसद पद्मा खड्काले बताइन् । कर्णालीमा एमालेका १९ सांसद छन् ।  
 
 


Author

थप समाचार
x