राजनीति

स्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व : प्रधानमन्त्री

इकागज |
असार २६, २०७९ आइतबार १४:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन्।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्य लगायतका विधामा योगदान दिने स्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन् । उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको उल्लेख गरे । 


प्रधानमन्त्री देउवाले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि जिकिर गरे । स्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै उनले यस प्रकारको सम्मानले स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए ।

प्रधानमन्त्री देउवाले स्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा स्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा योगदान पुर्‍याउने ४३ जना स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । 


Author

थप समाचार
x