राजनीति

काठमाडौँवासीलाई खानेपानीको अभाव हुन दिन्नः खानेपानी मन्त्री चौधरी

इकागज |
असार २७, २०७९ सोमबार १५:४३ बजे

फाइल फोटो

काठमाडौँ - खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारेका छन् । 

सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बन्न लागेको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकको शिलान्यास गर्दै मन्त्री चौधरीले बागमतीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरेर ५–६ करोड लिटर पानी र भूमिगत सतहको पाँच करोड लिटर भन्दा बढी पानीको व्यवस्था गरेर काठमाडौंबासीलाई खानेपानीको अभाव हुन नदिने बताएका हुन् । 


उनले मेलम्चीको विकल्पको रुपमा अन्य स्थानबाट पनि काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिए । मन्त्री चौधरीले बाढीबाट मेलम्चीको सुरुङलाई जोगाउनका लागि टनेल बन्द गरिएको भन्दै मनसुन सकिने बितिकै मेलम्चीको पानी ल्याउने बताए । 

एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको भन्दै मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदन अनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने दाबी गरे । 

यसअघि चैत्र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुन्दरीजलको सुरुङ नजिक कृष्ण प्रसाद भट्टराईको शालिक बनाउने निर्णय गरेको छ । 


Author

थप समाचार
x