राजनीति

विधानविपरीत काम गरेको भन्दै गिरी र तिवारीलाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

इकागज |
असार २९, २०७९ बुधबार १९:३४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिलनाथ गिरी र श्याम तिवारीलाई पार्टीको विधान विपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधकार बसेको कार्यसम्पादन समितिको बैठकले गिरी र तिवारी दुवैलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीका अनुसार गिरी र तिवारीले पार्टीलाई थाहै नदिई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग वार्ता गरेकाले दुवैलाई स्पष्टीकरण सोधिएको हो । गिरी र तिवारी दुवैले आफूहरु राप्रपाभित्र असन्तुष्ट पक्ष भएको भन्दै थापालगायतसँग दुई दिन अगाडि वार्ता गरेको प्रवक्ता शाहीको भनाइ छ ।


‘गिरी र तिवारीले अध्यक्ष थापासँग आफूहरु राप्रपाको तर्फबाट वार्ता समितिको संयोजक हौँ भनी भेटघाट गर्नुभएको छ । जब कि उहाँहरु पार्टीको साधारण सदस्य मात्र हुनुहुन्छ,’ इकागजसँग उनले भने, ‘जुन कार्य पार्टीको विधानविपरीत हो । त्यसैले पार्टीले दुवैसँग २४ घण्टे स्पष्टीकरण मागेको हो ।’

उनीहरुले २४ घण्टाभित्र चित्त बुझ्‍ने गरी स्पष्टीकरण नदिएको खण्डमा दुवै जनाविरुद्ध फौजदारी कसुरको मुद्दा दायर गरिने पनि शाहीले बताए ।


Author

थप समाचार
x