राजनीति

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

इकागज |
चैत २४, २०७७ मंगलबार १३:४४ बजे

राजीनामा दिएपछि पत्रकार सम्मेलनमा बायाबाट क्रमशः नन्दसिंह बुढा, प्रकाश ज्वाला र दलबहादुर रावल

काठमाडौँ : नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल, र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाएपछि उनीहरूले पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिएको घोषणा गरेका थिए । आइतबार बसेको एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री बनेकालाई राजीनामा दिन निर्देशन दिएको थियो ।


सोही निर्णयअनुसार एमालेबाट मन्त्री बनेका तीनै जनाले राजीनामा दिएका हुन् । एमालेको समर्थन फिर्ता भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ । १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रसँग बहुमत छैन ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ । 


Author

थप समाचार
x