राजनीति

प्रेस युनियन महाधिवेशनको तयारी पूरा : प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

इकागज |
साउन ५, २०७९ बिहीबार १४:१० बजे

मकवानपुर - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन नेपालको ९ औं केन्द्रीय महाधिवेशन शुक्रबार र शनिबार हेटौंडामा हुँदै छ । युनियन मकवानपुर शाखाको आतिथ्यतामा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आतिथ्य शाखाले जनाएको छ ।

युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी ‘पोष्टराज’का अनुसार अधिवेशन आठ वर्षपछि हुन लागेको हो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने तय भएको छ । 


महाधिवेशन शुक्रबार र शनिबार हुने भए पनि बिहीबारबाटै अतिथि, प्रतिनिधि, पर्यवेक्षक आउने क्रम सुरु हुने उनले बताए । अधिवेशनको लागि अतिथि, प्रतिनिधि र पर्यवेक्षकगरी करिब दुई हजार जना सहभागी हुने अधिकारीले बताए ।

प्रधानमन्त्री, मन्त्री तथा पार्टीको शीर्ष नेतृत्व नै हेटौंडामा हुने भएका कारण सोही अनुसार सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीलाई अनुरोध गरिसकिएको उनले बताए । महाधिवेशनको उद्घाटन, बन्द सत्र र नयाँ कार्यसमिति चयनका लागि हुने मतदानको सम्पूर्ण प्रबन्ध हेटौंडाको रोयल पार्टी प्यालेसमा हुनेछ ।

हेटौंडामा रहेको होटलमा मात्र आवासको व्यवस्था सम्भव नभएपछि छिमेकी जिल्ला बाराको अम्लेखगंज र चितवनको सौराहामा समेत आवासको व्यवस्था मिलाएको अधिकारीले बताए । 

महाधिवेशनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो बिचमा हेटौंडामा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार विभिन्न क्षेत्रमा हुने समेत अनुमान गरिएको छ । 

प्रेस युनियनको यो महाधिवेशनले संगठनको संघीय संरचना अनुसारको विधान सर्वसम्मतरूपमा पास गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ विधान पास भएपछि युनियन संघीयस्वरुप अनुसार संरचना निर्माण हुनेछ । नयाँ विधान अनुसार अब ७५ सदस्यीय नयाँ कार्यसमिति बन्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्ने भएका छन् । ।


Author

थप समाचार
x