राजनीति

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

इकागज |
साउन ५, २०७९ बिहीबार २०:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताए ।

उनले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे । उद्योगमन्त्री बडूले बजारमा हल्ला भएजस्तो श्रीलङ्का भइहाल्ने अवस्था नरहेको तर सजक हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए ।


उनले एनआरएनए सदस्यलाई नेपाली सरह लगानी गर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 'एनआरएनए सदस्यका लगानी आकर्षित गर्न सहजीकरण गरिन्छ । ठूलो लगानी भित्र्याउन तपाईँहरू सक्रिय भइदिनुस्,' मन्त्री बडूले भने । उनले राष्ट्रिय उत्पादन बढाउने र रोजगारी सिर्जना गाउँदेखि सहरसम्म विस्तार गर्न बजेट कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयका सहसचिव रमेशकुमार केसीले आधुनिकता र विकासको साझेदारका रुपमा रहेको एनआरएनलाई सरकारले लिएको भन्दै विदेशी मुद्रामा निक्षेप राख्न पाउने प्रावधान ल्याइएको र देशभित्र लगानी सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले दुवै सक्रिय हुनुपर्ने खाँचो औँल्याए । उनले श्रमिकले १० प्रतिशत शेयर भर्न पाउने व्यवस्था भदौ भित्रै कार्यान्वयनमा ल्याउनेगरी आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपाल बैंकर एसोसिएसनका पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक पुँजीको राम्रो स्रोत एनआरएनएको लगानी भए पनि बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउन नीतिगत सुधार जरुरी भएको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै पर्यटन पूर्वाधार, जलविद्युत्लगायत क्षेत्रमा लगानी भित्र्याउन एनआरएनएलाई आग्रह गरे । उनले बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे । 

रेमिट्यान्स एशोसिएसनका अध्यक्ष चन्द्र टण्डनले बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स नेपाल भित्र्याउने वातावरणका लागि एनआरएनएले सहजीकरण गरिदिन आग्रह गरे । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले एनआरएनएलाई नेपाली सरह लगानी गर्ने वातावरण सहजीकरण गरिदिन सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । एनआरएनएका अध्यक्ष डा बद्री केसीले लामो समयदेखि उठाउँदै आएको एनआरएनएले नेपाली सरह लगानी गर्न पाउने वातावरण सुनिश्चित हुन लागेकामा खुसी व्यक्त गरे ।


Author

थप समाचार
x