राजनीति

अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाण

इकागज |
साउन ७, २०७९ शनिबार १८:१२ बजे

फाइल तस्वीर

काठमाडौं–गृहमन्त्री बालकृष्ण खाणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाएका छन् ।

शनिवार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । गृहमन्त्री खाणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए । 


उनले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको बताए । गृहमन्त्री खाणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाइ छ । 

‘आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी छ’ उनले भने, ‘नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन सकेको छैन ।’ 

उनले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताए । उनले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिए । 

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताए । संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरेपनि नेपालमा त्यसको विपरित अवस्था रहेको उनले भनाइ राखे । 

हस्तान्तरण भएका सामग्रीमा ८ वटा एम्बुलेन्स छन् । जसमा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत उच्च स्तरको एम्बुलेन्समा हुने सेवा छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने व्यवस्था छ । यसमा सिसिटिभीको समेत जडान गरिएको छ । यी एम्बुलेन्स सबै प्रदेशमा एक एक वटाका दरले प्रदान गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ । त्यस्तै विपद्पछि उद्धारका लागि आवश्यक सर्च एण्ड रेस्क्यू उपकरण पनि हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्ग कोषलाई अपाङ्गता सहायता सामग्री ह्विलचेयर, कृत्रिम हातखुट्टा लगायत सामग्री हस्तान्तरण गरिएको छ । 
 


Author

थप समाचार
x