मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगद्वारा गृहकार्य सुरू
काठमाडौँ- निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्ययोजना समेत बनाई सुरु गरिसकेको आयोगले जनाएको छ ।
‘यसको लागि २०७९ साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगको २०७९ असार ३१ गतेको निर्णय अनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको छ,’ आयोगले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
सोही कार्यलाई प्रभावकारी बनाउन आज मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठक बसेको थियो ।
बैठकले आवश्यक पूर्वाधारसहितको पायक पर्ने स्थानमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिस गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्य रुपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया