राजनीति

प्रदेश-१ सभामा माओवादी र कांग्रेसको विरोध

इकागज |
चैत २६, २०७७ बिहिवार २०:२९ बजे

विराटनगर  : प्रदेश-१ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण स्थगन भएको छ । नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टंक आङ्बोले एमालेमा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐन विपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरूले नियमापत्ती गरेका थिए । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिए । सभामुखले बैठक नियमित रुपमा सञ्‍चालन गर्न पटक-पटक आग्रह गर्दा पनि सांसदहरूले उभिएर नै विरोध जनाएपछि आजको बैठक स्थगन गरेका हुन् । 


बैठक स्थगन हुनुअघि बोल्न समय पाएका कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश अहिले राजनीतिक र आर्थिक दुवै हिसाबले कमजोर भएको भन्दै विकास सञ्‍चालनका लागि स्रोतको सुनिश्‍चिता गर्न सरकारसँग माग गरे । उनले जबसम्म सरकारले संसद्‍मा उठाइएका प्रश्‍नहरूको जवाफ दिँदैन, तबसम्म संसद् चल्न नदिने घोषणा गरे । 

यसअघि आजको शून्य समयमा सांसद उमीता विश्‍वकर्माले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रम अविलम्ब सञ्‍चालन हुनुपर्ने माग गर्दै सरकारले महिला सशक्तीकरण र दलित विधेयक ल्याउन नसकेको आरोप लगाइन् । अर्का सदस्य नारायणबहादुर मगरले प्रदेशमा बुहवर्षीय सडकका योजना अलपत्रमा परेको, रकमको अभावमा ठेक्का लिएका कम्पनी पनि भाग्‍न लागेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

अर्का सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिए पनि त्यसअनुसारको काम नभएकाले बजेट कहाँ गयो जवाफ दिनुपर्छ भने । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो एक बजे बस्‍ने सभामुख भण्डारीले जानकारी दिए । (रासस)
 


Author

थप समाचार
x