राजनीति

बुढानीलकण्ठमा तीन दलको बैठक :

कांग्रेसको प्रस्‍तावमा जसपा : मुद्दा ओलीको पोल्टामा गयो, माओवादी : जसरी हुन्छ ओली सरकार हटाऔँ

सन्तोष अधिकारी |
चैत २७, २०७७ शुक्रवार १८:४४ बजे

काठमाडौँ  : केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा राखेको तीन दलबीचको छलफल सकिएको छ ।  छलफलमा नेपाली कांग्रेससहित, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेता सहभागी थिए । 

छलफलको सुरुमै सभापति देउवाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बनाउने पार्टीको निर्णय भन्दै सुनाए । उक्त निर्णयलाई माओवादी केन्द्रले स्वागत गरिहाल्यो । माओवादी केन्द्र आफैँ पनि केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पको छलफल चलाइरहेको पार्टी हो । 


उता जनता समाजवादी पार्टीका नेताहरु भने नयाँ सरकार बनाउने विषयमा पहिलो पटक प्रस्ताव आएको र यस विषयमा पार्टीभित्र कुनै छलफल नभएको भन्दै मौन रहे ।
‘तीन पार्टीहरुको बैठकको प्रारम्भमा बैठकको आयोजक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलेपार्टीको निर्णय नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने भन्ने छ । त्यो कार्यान्वयन गर्न छलफल गरौँ । तपाइँहरुको धारणा के छ भनेर प्रस्ताव राख्नुभयो,’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यो सँगसँगै उहाँले के पनि भन्नु भयो भने सामान्यतया चुनाव गराउने मात्रै भए जुनसुकै सरकार भए पनि फरक पर्ने थिएन होला तर, केपी ओली चाहिँ सर्वसत्तावादी भए । उनले राज्य सत्ता कब्जा गर्न खोज्दै छन् । पुलिस, सेना, कर्मचारी सारा अंगहरुलाई आफ्नो पार्टी र आफ्नो व्यक्तिगत कमाण्डमा चलाउन खोज्दैछन् । त्यसकारणले यस्तो सर्वसत्तावादी प्रधानमन्त्रीको हातबाट लोकतान्त्रिक चुनाव हुन सक्दैन ।  त्यो कोणबाट सोचेर हामीले नयाँ सरकार बनाउनुपर्छ भनेर भनेका हौँ । कांग्रेसको यो प्रस्ताव राख्दै तपाईँहरुको धारणा बुझ्न चाहन्छु । भन्नु भयो ।’ 

श्रेष्ठले माओवादी केन्द्र संविधान र लोकतन्त्रको रक्षा गर्नेहरुको सरकार बनाउनुपर्छ भनेर कसरत गरिरहेको बताए । ‘हाम्रो तर्फबाट संविधानविरुद्ध गएको, प्रतिनिधिसभा विघटन गरेको केपी ओलीको सरकार हटाएर लोकतन्त्रलाई, संविधानलाई रक्षा गर्नेहरुको सरकार भन्दै आएका छौँ । कांग्रेसको निर्णयलाई हामीले स्वागत गछौँ,’ उनले भने, ‘हामीले पनि यही प्रस्ताव गरेका छौँ । जसरी हुन्छ  केपी ओलीको सरकारको विकल्पमा नयाँ सरकार बन्नु पर्‍यो । जसपाले छिटै निर्णय गर्ने र पुन तीन पार्टीको बैठक बस्ने गरी आजको बैठक सकिएको छ ।’ 

प्रवक्ता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा माओवादीको धारणा स्पष्ट रहेको दाबी गरे । ‘पहिलो कुरा त हाम्रो संयुक्त सरकार पार्टी एकता हुनुभन्दा अगाडि पार्टी एकता पछि भएको हो । त्यो संयुक्त सरकार थियो हाम्रो समर्थन थियो । २०७५ जेठमा पार्टी एक भयो । त्यसपछि अदालतले, गत फागुन २३ को आदेशले हाम्रो पार्टीलाई विभाजित गर्‍यो । त्यसपछाडि यो सरकारलाई हाम्रो समर्थन रहेको छैन,’ उनले भने, ‘राजनीतिक अन्योलको अवस्था देशमा नरहोस् भनेर हामी केपी ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ बहुमतको सरकार बनाउन चाहन्छौँ । यो टुंगो हुनुभन्दा अगाडि नै समर्थन फिर्ता हुन्छ । यदि बहुमतको सरकार बन्ने अवस्था रहेन भने पनि हामी समर्थन फिर्ता लिनेछौँ ।’  

जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार बनाउने विषयमा प्रस्ताव आएको र यस विषयमा पार्टीमा छलफल गर्नै बाँकी रहेको बताए । ‘पहिलो पटक सरकार बनाउने प्रस्ताव भएको छ । यसमा हामीले छलफल गरेका छैनौँ । हाम्रो मुद्दा प्रधानमन्त्रीको पासमा गइसकेको छ,’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘छलफलमा मुद्दा सम्बोधन हामी पनि गर्छौँ भन्नु भएको छ । सत्ता साझेदारीको विषयमा छलफल गर्न बाँकी नै छ ।’ 

उनले देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्तावसँगै सहयोग गर्न आग्रह गरेको पनि बताए । ‘कांग्रेसले सरकार बनाउने भनेको छ । तपाईंहरु पनि मिलौँ भन्नु भयो,’ उनले भने, ‘अब चाहिँ छलफल गर्छौँ । साथमा हाम्रो मुद्दाका विषयमा पनि कुरा भयो । कार्यान्वयनमा गइसकेको छ ।’ 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले सत्ता समिकरणको विषयमा छलफल अघि बढाएको बताए । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचमा सत्ता समिकरणको विषयमा छलफल सकिएको छ,’ शर्माले भने, ‘कम्रेड केपी ओली नेतृत्वको सरकार विदाई गरेर नयाँ बनाउने विषयमा भएको यो पहिलो छलफल हो ।’ 

सभापति देउवाले पार्टी बैठकमा औपचारिक रुपमै नयाँ सरकारको प्रस्ताव गरेको शर्माको भनाइ छ । ‘कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भए अनुसार आजको बैठकमा औपचारिक रुपमै तपाइँहरुसँग प्रस्ताव राख्छौँ भनेर सभापतिज्युले भन्नु भयो,’ शर्माले भने, ‘माओवादीबाट यो उक्त प्रस्तावलाई सकरात्मक रुपमा लिएर केपी ओली नेतृत्वको सरकार विदाइ गर्नु नै अहिलेको राष्ट्रिय राजनीतिको मुद्दा हो भन्ने कुरा आयो ।’ 

जनता समाजवादी पार्टीका नेताहरुले के भने भन्ने विषयमा शर्माले भने, ‘उहाँहरुको साझा मत आयो । औपचारिक रुपमा बल्ल प्रस्ताव भएको छ । विधिवत निर्णय लिएका छैनौँ । चाँडैनै बैठक बसेर निर्णय गर्छाैँ भन्नु भयो । सारंशमा भन्नु पर्दा नयाँ सरकार बनाउने विषयमा आजको छलफल सकरात्मक छ ।’ 

जसपाले पार्टीभित्र छलफल गरेर चाँडैनै निर्णय गर्ने र पुन तीन दलको बैठक बस्ने सहमति भएको शर्माको भनाइ छ । आजको बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महान्त्री पूर्णबहादुर खड्का, कृष्ण सिटौलालगायतका नेता सहभागी थिए । त्यस्तै माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ सहभागी थिए । जसपाको तर्फबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई  अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।  
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x