राजनीति

भक्तपुरमा १५ हजार मतदाता थपिए

इकागज |
साउन २०, २०७९ शुक्रबार १७:५७ बजे

भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त १४ हजार नौ सय ९६ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा विभिन्न बाह्य जिल्लाबाट आएका र भक्तपुरका स्थायी बासिन्दा गरी सो सङ्ख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।


बसाइसराइ तथा ठाउँ सारी गर्ने मतदाता एक हजार नौ छन् । प्रमुख न्यौपानेले बाहिर जिल्लाबाट बसाइ सरेर भक्तपुर बस्दै आएका नयाँ पाँच हजार ७७९ पुरुष र चार हजार ७०८ महिलाले भक्तपुरबाट फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएको जानकारी दिए ।    
    
नयाँ मतदातामध्ये दुई हजार आठ सय नौ पुरुष र एक हजार सात सय महिलाले फोटोसहितको मतदाता परिचयपत्रमा नाम दर्ता गराएको उनले बताए । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा तीन हजार आठ महिला र दुई हजार नौ सय ७० पुरुषको त्रुटि सच्याइएको कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।    
    
आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरिसकेकाले आजसम्म मतदाता नामावली सङ्कलन गरिने र भोलिदेखि बन्द हुनेछ । यसअघि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच कूल एक लाख ८९ हजार ५८४ मतदाता रहेकोमा अब थप भएको सूचना अधिकारी बिसीले जानकारी दिए ।  


Author

थप समाचार
x