राजनीति

ओलीले भने : वनको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिन्छ

इकागज |
साउन २४, २०७९ मंगलबार १७:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा वनको बहु आयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे । सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे ।


सामुदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसै कारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरूका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेको अघि बढ्दा सिंगो मानवजातिकै हित हुने धारणा पनि राखे । उनले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताए । 


Author

थप समाचार
x