राजनीति

संसद्‍मा गणपूरक संख्या पुग्‍न छोडेकोप्रति सभामुख असन्तुष्ट

इकागज |
साउन ३०, २०७९ सोमबार १६:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्‍न छोडेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्‍मा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।


पछिल्लो समय संसद्‍मा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्‍न छोडेको छ । आइतबार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरूको गणपूरक संख्या नपुग्दा मंगलबारसम्मका लागि बैठक स्थगित गर्नु परेको थियो । उनले संसद्‍लाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नु परेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसद्‍लाई अफ्ठ्यारो भइरहेको बताए ।

उनले संसद्‍मा विधेयक पास गर्नका लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नु परेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताए । 


Author

थप समाचार
x