राजनीति

सत्ता गठबन्धनकाे कार्यदल बैठक

कृष्ण सिटौलालाई सिट बाँडफाँटको खाका तयार गर्ने जिम्मा

इकागज |
साउन ३०, २०७९ सोमबार १९:२२ बजे

काठमाडौँ- मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलले तालमेलको सबै काम टुंगो लगाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने जनाएको छ ।

बालुवाटारमा सोमबार बसेको कार्यदल बैठकमा चुनावी तालमेलका बारेमा बिभिन्न कोणबाट छलफल भएको र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शिर्ष तहमा प्रतिवेदन बुझाउने तयारी भएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले बुधबार बस्ने कार्यदल बैठकले तालमेलको खाकाको टुङ्गो लगाउने संकेत गरे । तालमेलका लागि २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र अहिलको स्थानीय तह निर्वाचनलाई आधार बनाएर छलफल भइरहेको उनले बताए ।


उनले यसअघिको संघीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी सहभागी नभएकाले विशिष्ट रुपमा मापदण्ड बनाएर तालमेलको खाका तयार गरिने जानकारी दिए । कार्कीले कसैको विरुद्ध गठबन्धन नभएको भन्दै गठबन्धनमा आउन चाहनेसँग सकारात्मक रुपमा छलफल गरिने बताए ।​

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधि सभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौला छन् । कार्यदललाई सिट बाँडफाँटको खाका तयार गरी प्रतिवेदन बुझाउन भनिएको छ ।


Author

थप समाचार
x