राजनीति

नागरिकता विधेयक अध्ययन गरेर अघि बढाउँछाैं : मन्त्री कार्की

इकागज |
साउन ३०, २०७९ सोमबार १९:५९ बजे

काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति भण्डारीले आइतबार साँझ पुनर्विचारका लागि संघीय संसद्‍मा फिर्ता पठाउने निर्णय गरेकी थिइन् । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्‍बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी थिइन् ।


आज (सोमबार) सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताए । त्यस्तै सिट बाँडफाँट कार्यदलको आजको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएको जनाएको छ । मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु, समानुपातिक मत, र २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाउने बताए । उनले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा निर्वाचनमा प्रतिष्पर्धा नगरेकोले त्यसलाई विशिष्ट रुपमा राख्दै  मापदण्ड तय गर्ने जिकिर गरे ।

उनले सिट बाँडफाँटको टुंगो सकेसम्म आउँदो बुधबारसम्म सक्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले सकेसम्म बाँडफाँट कार्यदलकै बैठकबाट मिलाएर सिटको टुंगोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनसाय रहेको बताए ।

मन्त्री कार्कीले सरकारले कसैको विरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रुपमा कुरा अघि बढाएको उल्लेख गरे । सिट बाँडफाँट कार्यदलको बैठक बुधबार ४ बजे बस्नेछ । 


Author

थप समाचार
x