राजनीति

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने

मधुसुधन भट्टराई |
चैत २९, २०७७ आइतबार १९:२ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसको महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी, सदस्यता छानबिन समिति र संगठन समायोजन समितिका सदस्यहरूको बैठकले आगामी भदौ ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशनका लागि तय कार्यतालिकामा केही परिवर्तन गर्नेबारे छलफल भएको हो । 

बैठकमा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता प्रविष्ट (इन्ट्री) गर्ने र अन्य पार्टीबाट आएका सदस्यहरूको पार्टी संगठनमा समायोजन र क्रियाशील सदस्यता समायोजनबारे पनि केही समय बढाउने सहमति नेताहरूबीच भएको छ । बैठकमा सहभागी क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले अनौपचारिक बैठकमा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन गर्नेबारे छलफल भएको जानकारी दिए । ‘पार्टी महाधिवेशनबारे छलफल भयो । आन्तरिक कार्यतालिका परिवर्तन, अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको क्रियाशील सदस्यता समायोजनलगायतमा केही समय थप्ने भन्ने कुरा भएको छ’ पौडेलले इकागजसँग भने ।


कांग्रेसको ५ फागुनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यताको सूची प्रक्रिया पूरा गरेर केन्द्रीय कार्यालयमा चैत मसान्तसम्म पठाइसक्नु पर्ने कार्यतालिका बनाएको थियो । त्यस समयमा आइनसक्ने भएकाले कम्तीमा १५ दिन थप्ने तयारी छ । १५ दिन थप्ने प्रस्ताव भोलि (सोमबार)को बैठकमा पेस गरिनेछ । त्यस्तै अन्य पार्टीबाट आएका सदस्यहरूलाई संगठनमा समायोजन गर्ने समय पनि बढाउने तयारी छ । भोलि केन्द्रीय कार्यसमिति बैठक बस्नु पूर्व समायोजन समिति बैठक बसेर कति थप्ने हो त्यो प्रस्ताव तयार गरी केन्द्रीय समितिमा पेस गर्ने सहमति अनौपचारिक बैठकमा भएको छ ।

कांग्रेसले अन्य पार्टीबाट आएकाहरूलाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समिति दुई वर्ष अगाडि नै नेपाल लोकतान्त्रिक फोरमसँग कांग्रेसको एकीकरण भएपछि बनाएको थियो । क्रियाशील सदस्यता नमिलेकाले तत्कालीन लोकतान्त्रिक फोरममा सभापति तथा वर्तमान कांग्रेस उपसभापति विजयकुमार गच्छदार, तत्कालीन राप्रपा नेता तथा वर्तमान कांग्रेस सह-महामन्त्री सुनिल थापा पनि बैठकमा सहभागी थिए । 

लोकतान्त्रिक र राप्रपाबाट आएका सदस्यहरूको पार्टीमा सदस्यता मिलाउन विवाद भएकाले केही जिल्लामा क्रियाशील सदस्यता मिलिसकेको छैन । जसका कारण केन्द्रमा सदस्यताको विवरण आइपुगेको छैन । सह–महामन्त्री थापाको गृह जिल्ला धनकुटा, उपसभापति गच्छदारको गृह जिल्ला सुनसरी, तत्कालीन लोकतान्त्रिक फोरमको पकड भएका कैलाली, बर्दिया, प्रदेश २ का जिल्लाहरू, पश्चिम नवलपरासी, काभ्रेलगायतमा विवाद छ ।

त्यो विवाद कसरी मिलाउने भन्ने अवधारणा र त्यसका लागि चाहिने समय समावेश गरेर केन्द्रीय समितिमा समायोजन समितिले पेस गर्ने सदस्य पौडेलले बताए । ‘केही जिल्लाहरूमा सदस्यता समायोजन, अरु पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरूबारे विवाद छ, त्यसको पहिचान गरी कसरी मिलाउने भनेर केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न छलफ गर्न बैठक भएको हो, औपचारिक होइन, अनौपचारिक हो,’ पौडेलले भने । 

आजको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी थिएनन् ।  केन्द्रीय कार्यसमिति बैठक सोमबार दुई बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । यसअघि २७ चैतमा बोलाइएको बैठक स्थगित गरी सोमबारका लागि सारिएको थियो । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x