प्रदेश २ मा एमाले दुई चिरा : ओली समूहमा १२, नेपाल समूहमा १३ सांसद
जनकपुरधाम : नेकपा एमालेभित्र उत्पन्न समूहगत विवाद प्रदेश २ मा पनि देखिएको छ । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरू आ(आफ्नो कित्ताकाट गरिरहेका छन् । प्रदेश २ मा पनि यसको प्रभाव देखिएको छ । आइतबार एमालेका संस्थापन पक्ष ओली समूहका संसदीय दलका नेतालाई हटाएर बहुमतका आधारमा नेपाल पक्षले शत्रुधन महतोलाई दलको नेतामा चयन गरेसँगै विवाद उत्कर्षमा पुगेको ।
नेपाल पक्षका १३ जना सांसदले निर्णय गरेर ओली समूहका सत्यनारायण मण्डललाई हटाएर महतोलाई बहुमतका आधारमा सर्वसम्मतले दलको चयन गरिएको निर्णयपत्र सभामुखलाई बझुाएका हुन् । पार्टीभित्र गुटगत विवाद उत्पन्न भएपछि प्रदेश २ एमालेका २१ जना सांसदमध्ये १३ जना नेपाल समूहको खुलेर नै समर्थन जनाउन थालेका छन् भने ओली समूहमा बाँकी रहेका ८ जना र माओवादी केन्द्रबाट आएका ४ जना गरी १२ जना सांसद छन् ।
नेपाल समूहमा शत्रुधन महतो, रवीन्द्र बैठा, सुन्दर विश्वकर्मा, सीता गुरुङ, नागेन्द्र यादव, हसिना खातुन, डिल्ली उप्रेती, बेची लुंगेली, मन्जु यादव, प्रमोद कुमार यादव, मदनसेन श्रीवास्तव, गोविन्द न्यौपाने रहेका छन । नेपालमा लागेका शत्रुध्न महतो धनुषाको ४ (१), सुन्दरबहादुर विश्वकर्मा बाराको ४ (१), नागेन्द्रराय यादव रौतहटको ३ (१), डिल्ली प्रसाद उप्रेती सर्लाहीको ३ (१), बेची लुगेंली सर्लाहीको १ (२), प्रमोद यादव सिरहाको ३ (२), मदनसेन श्रीवास्तव सिरहाको २ (२), अशोक कुमार यादव सिरहाको १ (२) निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
त्यस्तै रविन्द्र बैठा सर्लाहीबाट, सीता गुरुङ्ग बाराबाट, हसिमा खातुन रौतहटबाट र मन्जु यादव महोत्तरीबाट समानुपातिकबाट निर्वाचित सांसद हुन । महतो र बैठा सुरुदेखि नै नेपालमा समूहमा छन भने सुन्दर विश्वकर्मा, मन्जु यादव, गोविन्द न्यौपाने, प्रमोद कुमार यादव लगायतका नेताहरू नेकपाभित्र विवाद उत्पन्न भएपछि नेपाल समूहमा लागेका हुन् । यसअघि उनीहरू ओली समूहमा रहेका थिए ।
विवादपछि सत्यनारायण मण्डल, लगनलाल चौधरी, किशोरी कमल साह, शारदादेवी थापा, त्रिलोकी प्रसाद, अनिताकुमारी यादव, जगतारणदेवी सुडिन र मनोजकुमार सिंह सहितका सांसदहरु ओली समूहमा रहेका छन । यसका साथै माओवादी केन्द्रबाट आएका रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन कुशवाहा र मोहम्मद समीर ओली समूहमा छन् ।
यसअघि प्रतिनिधि सभा विघटनपछि उत्पन्न विवादको क्रममा एमाले र माओवादी केन्द्रको एकीकृत दल नेकपाभित्र भाँडभैलो उत्पन्न भएपछि मण्डललाई हटाएर १९ सांसदले महतोलाई नेतामा चयन गरेका थिए । त्यसबेला माओवादी तर्फका ७ जना र नेपाल समूहका १२ जनाले संयुक्त रुपमा निर्णय गरेर महतोलाई दलको नेतामा चयन गरेका थिए ।
नेकपा पार्टी ऋषि कट्टेल पोल्टामा गएपछि एमाले र माओवादी पुरानै नामको पार्टीमा फर्केपछि एमालेको संसदीय दलको नेता को हुने अन्यौलता बढ्दै गएको थियो । करिब ६ महिनापछि सोमबार प्रदेश सभा बैठक बस्दै छ । पाँचौ अधिवेशनको बैठकको पूर्व सन्ध्यामा नेपाल समूहका महतो बहुमतले दलको नेतामा चयन भएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया