राजनीति

राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

इकागज |
भदौ २, २०७९ बिहीबार १५:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेकी हुन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले हाम्रो जस्तो खुला सिमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताइन् । खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा विवाह गर्ने वित्तिकै नागरिकता दिन नहुने उनको अडान थियो ।


उपाध्यक्ष पौडेलले विवाहितको लागि अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने व्यवस्था गर्नुपर्ने पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।

उनले भनिन्, ‘सम्माननीय राष्ट्रपतिज्यूले संविधान अनुसार नै नागरिकता विधेयकमा पुनर्विचार गर्नका लागि फिर्ता पठाउनु भएको छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु । उहाँको सो कदमलाई स्वागत गर्न चाहन्छु । राष्ट्रिय जनमोर्चाले संविधान घोषणा गर्दाखेरी नै नागरिकता विधेयक सम्बन्धी आफ्नो धारणा स्पष्ट गर्दै संशोधन राखेर संविधान घोषणा गरेको थियो । नागरिकता हरेक देशका नागरिकहरुले त्यसलाई प्राप्त गर्ने विधिहरूलाई जव अपनाउँछन्, त्यसको राजनीतिक आधार, त्यसको सामाजिक आधार, भौगोलिक आधार, त्यो सँगसँगै सीमा, हरेक क्षेत्रहरुलाई अध्ययन गरेर त्यसका विधिहरु अपनाउने गर्दछन् । विवाह गर्दैमा नागरिकता प्राप्त गर्न योग्य भइसक्यो भन्ने कुरा दुनियाँको कुनै पनि सिद्धान्तले त्यो कुरालाई स्वीकार गर्न सक्दैन । हामीले यो चिजलाई स्पष्टसँग बुझ्न जरुरी छ ।’

उपाध्यक्ष पौडेलले विवाह गरेलगत्तै अंगीकृत नागरिकता पाउने व्यवस्था विश्वमा कहीँ पनि नभएको दाबी समेत गरिन् ।


Author

थप समाचार
x