राजनीति

माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने, आज चयन भएका पदाधिकारीको कार्यकाल छोटो

इकागज |
भदौ ४, २०७९ शनिबार १७:२७ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रले छिटै पार्टीको बिशेष अधिवेशन गर्ने भएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको टुंगो लगाउँदै छिट्टै विशेष अधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीे प्रवक्ता कृष्ण बहादुर महराले बैठकले बिशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरेकोे जानकारी दिए ।


बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् भने महासचिवमा देव गुरुङ चयन गरेको छ । त्यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन् । त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, लिलामणी पोखरेल, देवेन्द्र पौडेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको प्रवक्ता महराले बताए ।

त्यस्तै बैठकले आगामी निर्वाचनलाई केन्द्रीत गर्दै निर्वाचनको घोषणापत्र तयार गर्न नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ भने बिद्यार्थी संगठनको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको प्रवक्ता महराले बताए ।

बैठकले यसअघि स्थगित भएको विभिन्न प्रदेशको बैठक तथा प्रशिक्षणको मिति तय गरेको छ । बैठकले रिक्त रहेका आयोग र विभागका सदस्य चयनका लागि केन्द्रीय कार्यालयसँग छलफल गरेर आगामी बैठकले टुङ्गो लगाउने प्रवक्ता महराले जानकारी दिए ।


Author

थप समाचार
x