उम्मेदवारले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयन पत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने
काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारहरूले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयन पत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ ।
निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरूसँग छलफल गर्दै निर्वाचन आयोगले अनुमानित चुनावी खर्च र स्रोतका बारेमा मनोनयन पत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो ।
त्यस्तै उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गर्दा नै आफ्नो सम्पती बिवरण र व्यक्तिगत बिवरण बुझाउनुपर्ने व्यवस्था समेत आयोगले गर्न लागेको छ । त्यस्तै निर्वाचन प्रचारमा १० वटा सम्म राष्ट्रिय प्रयोग गर्न पाउने व्यवस्था आयोगले गर्न लागेको छ । निर्वाचन आचारसंहिताका बारेमा दलहरूबाट मिश्रित सुझावहरू आएको र सुझावहरूका आधारमा छिट्टै राजपत्रमा प्रकाशनका लागि पठाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै दलहरूसँग खर्चको सीमाका बारेमा पनि छलफल भएको र अर्को बैठकले टुङ्गो लगाउने उनले बताए । बैठकमा प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता कार्यान्वयनमा जोड दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले यसअघिको निर्वाचनमा भएका विकृतिलाई अन्त्य गर्दै आयोगले नया आचारसंहिता ल्याएको र यसबारे जानकारी गराएको बताए । छलफलमा अन्य नेताहरूले पनि आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको उनले उल्लेख गरे । त्यस्तै लोसपाका नेता केशव झाले निर्वाचन आचारसंहितामा रहेका बिभिन्न विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा नेकपा एमालेले मौन अवधि ४८ बाट घटाएर २४ घण्टा बनाउनुपर्ने लगायतका १३ वटा सुझाव दिएको थियो । जसमा जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सुक्ष्म अनुगमन गर्न विशेष इकाई गठन गर्नुपर्ने, निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने लगायतका सुझाव छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया