राजनीति

माओवादी पदाधिकारीमा एकजना मात्रै महिला, प्रचण्ड भन्छन् : सिनियारिटीका आधारमा पदाधिकारी बनाइन्छ

बाबुराम भण्डारी |
भदौ १०, २०७९ शुक्रबार १३:४५ बजे

विराटनगर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आठौं महाधिवेशनको ८ महिनापछि चयन गरिएका २१ पदाधिकारीमा एकजना मात्रै महिला हुनुको मुख्य कारण ‘सिनियारिटी’ भएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पदाधिकारी बनाउन नेताहरूको ‘सिनियारिटी’ नपुगेको टिप्पणी गरे । उनले सिनियारिटीका आधारमा मात्रै पदाधिकारी बनाइने बताए । ‘पदाधिकारी भनेको सिनियारिटीको आधारमा आउने चिज हो नि,' उनले भने, ‘समानुपातिक गर्नुपर्ने त केन्द्रीय समितिमा हो, स्थायी समितिमा हो, नीति निर्माण गर्ने ठाउँमा हो ।’


उनले पदाधिकारीले दैनिक काम गर्ने पद मात्रै भएको दाबी गरे । पार्टीको नीति निर्माण गर्ने मुख्य थलो स्थायी कमिटी भएकाले त्यहाँ ११ जना महिलालाई पदोन्नति गरेर लगिएको बताए । माओवादी केन्द्रको पदाधिकारीमा वर्तमान उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाल मात्रै रहेकी छन् । उनी पार्टीको उपमहासचिव बनाइएकी हुन् ।

पार्टीभित्र एक्लो पदाधिकारी ‘अध्यक्ष’ बनेका प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएका कारण भदौ ४ गतेको स्थायी कमिटीको बैठकबाट २१ सदस्यीय पदाधिकारी घोषणा गरेका हुन् । ‘तपाईंहरू खाली माओवादीलाई मात्रै हेर्नु हुन्छ,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘नीति निर्माण गर्ने स्थायी समितिमा ११ जना महिला एकैचोटी पदोन्नति गरेको नेपालको इतिहासमा कुनै पार्टीको रेकर्ड छ ?’

माओवादी केन्द्रले प्रदेश १ मा समेत महिला र दलितलाई किन मन्त्री नबनाएको भन्ने प्रश्नमा प्रचण्डले भने, ‘कर्णालीमा गएर हेर्नुहोला ।’

उनले नागरिकता विधेयकसँग जोडिएका पछिल्लो घटनाक्रमले राजनीति केही तरंगित भएको बताए । यद्यपि त्यसले कुनै संकट नल्याउने र समाधान भएरै छाड्ने प्रचण्डले दाबी गरे । ‘घटनाक्रमलाई केही तरंगित पारे पनि यसले कुनै संकट ल्याउँदैन, यो समाधान भएरै छाड्छ,’ उनले भने, ‘राष्ट्रियसभाबाट पनि प्रक्रियाबाटै पारित हुन्छ र राष्ट्रपति जीले पनि यसलाई प्रमाणित गर्नुहुन्छ मेरो विश्वास छ ।’

राष्ट्रपति र सेनाका उच्च अधिकारीबीचको पछिल्लो भेटघाट स्वभाविक नदेखिएको टिप्पणी गरे ।

प्रचण्डले सहमतिमै १६५ सिटको बाँडफाँट हुने भन्दै आफू केही लचिलो बनेको संकेत गरे । त्यसका लागि कसले कहाँ जित्ने सम्भावना छ त्यसको विषयका कार्यदलले हेरेर आजै बेलुकासम्म टुंगो लगाउने सक्ने जानकारी दिए ।

‘१६५ सिटभित्रै मिल्छ, मिलाउनु पर्छ, कहाँ कसको जित्ने सम्भावना बढी छ भनेर कार्यदललाई हेर्न लगाएका छौं, आज बेलुकासम्म वहाँहरूले हेर्नुहुन्छ,’ उनले भने, ‘बाहिर देखिएजस्तो धेरै नै अप्ठेरो भन्ने हुँदैन, कसैको हार्ड एण्ड फाष्ट हुनुहुँदैन, आफ्नो गोरुको बारै टक्का हुनुहुँदैन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x