बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्दैछ : देउवा
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको बताएका छन् ।
बुटवलमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योजनाबद्ध र व्यवस्थित सहरी विकासका लागि आधुनिक सहरको विकास हुनु जरूरी रहेको बताए ।
देउवाले अधिकांश सहरहरू योजनाबद्ध रूपले बन्न नसकेको र अव्यवस्थित रूपमा रहेका सहरहरूलाई व्यवस्थित सहरको रूपमा रूपान्तरण गर्न जरूरी भएको बताए ।
देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक, शैक्षिकसँगै समग्र विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्दै सम्मेलन केन्द्र संचालनका लागि सरकारले छिट्टै मोडालिटी तयार गर्ने बताए ।
गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध विमानस्थल बनेपनि प्रयाप्त सदुपयोग हुन नसकेको भन्दै त्यसका लागि देखिएका बाधाहरू हटाउनका लागि सरकार र प्रधानमन्त्रीका तहबाट प्रयत्न भइरहेको बताए । गृहमन्त्री खाणले राज्यले गरेको लगानीलाई सदुपयोग गर्ने त्यसको बहुआयामिक ढंगले संचालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताए ।
उनले बुटवलको विकास समग्र मुलुकको विकासको आधारशिला भएको बताउँदै खाणले यहाँको विकासबाट नेपालको अर्थतन्त्र गतिशिल हुने बताए । उनले नागरिकको जीवनस्तर कसरी परिवर्तन आउन सक्छ भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि आवश्यक बजेट अभाव भएको बताउँदै सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए।
केसीले लुम्बिनी प्रदेशमा केही महत्वपुर्ण र गौरवका आयोजनाहरू अगाडि सारेको बताउँदै लुम्बिनीको विकासमा सबै तहका सरकारको समन्वयमा साझा संयन्त्र निर्माण गर्न जरूरी रहेको बताए ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले लामो समयको धैर्यता पछि रूपन्देहीले नयाँ नयाँ आयोजनाहरू सम्पन्न गरेर उद्घाटनका लागि तयार भएको बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया