राजनीति

सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौं  - मन्त्री यादव

इकागज |
भदौ ११, २०७९ शनिबार १९:२३ बजे

फाइल फोटो

पर्सा - वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । 

पर्साको वीरगञ्ज महानगरपालिकाको हरपतगञ्जमा सडकको शिलान्यास गर्दै उनले सडक विकासको मुख्य आधारस्तम्भ भएको जिकिर गर्दै सडकको विकास भएपछि अरु कुराको स्वतः विकास हुने बताए । 


सो अवसरमा वीरगञ्ज हरपतगञ्जको ड्राइपोर्ट सडकखण्डदेखि मनियारी, इटीयाही, भवानीपुर नहर रोड भएर जगरनाथपुर गण्डक नहर सडकखण्डदेखि राजमार्गसम्मको कालेपत्र सडक र नाला निर्माण सडकको मन्त्री यादवले शिलान्यास गरेका थिए । 

लामो समयसम्मको प्रतीक्षापश्चात् सो क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएकामा मन्त्री यादवले खुसी व्यक्त गर्दै सडक निर्माण भएपश्चात् सो क्षेत्रका किसानको उत्पादनले सहजरुपमा बजार पाउने बताए । सडक शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्जका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–२० का वडाध्यक्ष रामकिशोर सिंह परागलगायतको उपस्थिति रहेको थियो । 

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडाले सडकको निर्माण गर्न लागेको हो । करिब साढे ६ किलोमिटर लम्बाइको कालोपत्र सडक पुस मसान्त २०८१ भित्र सम्पन्न गर्ने गरी रु २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगञ्जले निर्माणको जिम्मा पाएको छ ।  
रासस


Author

थप समाचार
x