राजनीति

आरजुलाई हराउन कैलाली-५ बाट कांग्रेस नेता ओझाले उम्मेदवारी दिँदै

इकागज |
भदौ १७, २०७९ शुक्रबार १५:२७ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा कैलाली ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि सर्वसम्मत् सिफारिस भएकी छन् । तर, राणाविरुद्ध कांग्रेसकै पुराना नेता पुस्करनाथ ओझाले उम्मेदवारी दिने सम्भावना देखापरेको छ ।

राणाले २०७४ को निर्वाचनमा एमालेका नारदमुनि रानासँग करिब ५ हजार मतले हारेकी थिइन् । रानाले २७ हजार २ सय २ मत ल्याएका थिए भने राणाले भने २२ हजार ३ सय २२ मत मात्रै पाइकी थिइन् ।


आगामी निर्वाचनमा भने उनी पुरानो हार नदोहोर्‍याउने हिसाबले तयारी गरिरहेकी छन् । राणालाई संसदमा ल्याएर देउवाले संसदीय दलको नेतासम्म बनाउने तयारी अघिल्लो निर्वाचनमा गरेको देउवाका निकट नेताहरू बताउँछन् । आरजु जसरी हुन्छ यसपटक संसद्‍मा आफ्नो उपस्थिति बनाउन चाहन्छिन् ।

राणालाई जित निकाल्न सहज भने छैन । कैलाली-५ मा धनगढी उपमहानगरका सबै वडा र कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्छ । धनगढीको मेयरमा कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई हराउँदै स्वतन्त्र गोपाल हमालले जित निकालेका थिए । हमालले २६ हजार ८ सय ६५ मत ल्याएका थिए भने कांग्रेसका वडले १४ हजार ८ सय १७ मत ल्याए । एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत पाए । उपप्रमुखमा एमालेकी कन्दकला कुमारी रानाले जित हासिल गरेकी थिइन् ।

वडामा पाएको मत हेर्दा कांग्रेस बलियो देखिन्छ । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा ११ वटामा कांग्रेस विजयी हुँदा ६ वटामा एमाले र २ वटामा माओवादीले जिते निकालेको छ । यस्तै कैलारी गाउँपालिकाको ६ र ९ दुईवटै वडा भने कांग्रेसले जितेको छ ।

वडामा ल्याएको मतको आधारले मात्रै आरजुको जित भने निर्धारण भने गर्दैन । कांग्रेसमा परिवारवाद हाबी भयो भनेर आरजुसँग पार्टीभित्रैका नेता असन्तुष्ट छन् । प्रधानमन्त्रीका काममा हस्तक्षेपले पनि उनको छवि धमिलो बनेको छ ।

यतिमात्रै होइन, परिवारवाद हाबी भएको भन्दै असन्तुष्ट नेताले उनलाई चुनाती दिन कैलाली ५ बाटै उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन् । कांग्रेसका पुराना नेता पुस्करनाथ ओझाले आरजु लडेकै क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । उनका निकट नेताहरूका अनुसार आरजुले जिते लोकतन्त्र धरापमा पर्ने भन्दै उनले उम्मेदवारी दिन लागेका हुन् ।

ओझालाई ०७७ मा कांग्रेसले ५ वर्षका लागि अनुशासनको कारबाही गरेको थियो । आरजुलाई हराउन उनले विभिन्न गतिविधि गरेको आरोप उनलाई लगाइएको थियो । ओझा ०५६ सालमै सांसद जितेका र मन्त्रीसमेत भइसकेका कांग्रेसका सिनियर नेता हुन् । प्रधानमन्त्री पत्नी आरजुले निर्वाचन जित्न जति नै स्रोत-साधन खर्चिए पनि ओझाले उम्मेदवारी उनको जितमा बाधक बन्‍न सक्छ ।
 


Author

थप समाचार
x