राजनीति

जसपामा पनि फुटको संकेत

पूर्वराजपा ओलीसँग टाँसिदै, समाजवादी एक्लिँदै

सुभाष कर्ण |
बैशाख १, २०७८ बुधबार १३:२६ बजे

जनकपुरधाम : मंगलबार पूर्वराजपासँग आबद्ध प्रदेश-२ सरकार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको चियापान समारोह कार्यक्रममा पूर्वसमाजवादी पार्टीका नेता तथा मन्त्रीहरूको उपस्थिति थिएन । मन्त्रालयको प्रांगणमा आयोजित सो कार्यक्रममा राजपा आबद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेताहरू राजेन्द्र महतो, अनिल झा र शरतसिंह भण्डारी उपस्थिति थिए । तर समाजवादी आबद्ध अध्यक्ष उपेन्द्र यादव हाल उनको समर्थक रुपमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादवको उपस्थिति भने थिएन ।

समाजवादीमा आबद्ध नेता, सांसद र मन्त्रीहरूलाई सो कार्यक्रममा निम्तो गरिएको थिएन । सोही कारणले समाजवादीमा आबद्ध प्रदेश सांसदहरूको पनि उपस्थिति देखिएको थिएन । हुनत समाजवादीमा आबद्ध मन्त्रीहरूले आफूलाई जानकारी भए पनि जनकपुरधाम बाहिर रहेको कारण उपस्थित हुन नसकेको दाबी गरेका छन् । पार्टीभित्र देखिएका तिक्तता र मतान्तरलाई दुवै पूर्वपार्टीका नेताहरूले वैचारिक द्वन्दको नाम दिएर पन्छिन खोजेका छन् । 


सोनलले आयोजना गरेको चियापान समारोह कार्यक्रम उदाहरण मात्र हो । यसअघि समाजवादीका नेताहरूले धनुषाको हारसरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा राजपाका नेताहरूलाई निम्तो गरिएको थिएन । पार्टी एकीकरण भएदेखि जसपाद्वारा आयोजित विभिन्‍न पार्टी प्रवेश, युवा, विद्यार्थी तथा महिना लगायतको भातृ संगठनहरूको कार्यक्रममा राजपाले गरेको आयोजनामा समाजवादीको अनुपस्थिति र समाजवादीले आयोजना गरेको कार्यक्रममा राजपाको अनुपस्थिति रहँदै आएको छ ।

पार्टी फुटको संकेत प्रतिनिधि सभा विघटन यतादेखि सरकार गठनको विषयलाई लिएर केन्द्रीय समितिका नेताहरूले गरेको पछिल्लो राजनीतिक गतिविधिले प्रष्ट रुपमा देखा परेको छ । पूर्वराजपाले नेकपा एमाले नेतृत्वको ओली सरकारसँग जाने चाँजोपाँजोमा जुटेका छन् भने समाजवादीका नेताहरूले ओली प्रतिगमनकारी रहेको भन्दै प्रतिवाद गर्दै आएका छन् ।

केन्द्रीय राजनीतिको प्रभाव प्रदेश र स्थानीय तहमा समेत देखिएको छ । पार्टी तहबाहेक भातृ संगठनहरूले गरेको क्रियाकलापले समेत पार्टीभित्र दुई धार रहेको प्रष्टै देख्‍न सकिन्छ । पछिल्लो पटक सम्पन्‍न नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारको निर्वाचन तथा वैशाख १४ गते हुने इन्जिनियरहरूको निर्वाचनमा समाजवादीको सहमति बिना ओली नेतृत्वको एमालेका भातृ संगठनहरूसँग सहकार्य गरेर अघि बढेका थिए । तिनीहरूले पार्टीभित्र वैचारिक द्वन्द लोकतान्त्रिक प्रक्रिया भएकाले फुटको आधारको रुपमा लिन नसकिने दाबी गरेका छन् । 

जसपाका प्रदेश २ को रुपमा रहेका तराई मधेश प्रदेश समितिका सचिव एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पार्टीभित्र वैचारिक द्वन्द भए पनि फुटको कुनै संकेत नरहेको दाबी गरे । 'लोकतान्त्रिक पद्धतिमा हरेक पार्टीभित्र वैचारिक द्वन्द हुन्छ, त्यो हुन पनि जरुरी छ' उनले भने 'जहाँसम्म मन्त्री सोनलले आयोजना गरेका चियापान समारोहमा आफूहरू बाहिर रहेको कारण उपस्थिति हुन सकेनौं ।' सो कार्यक्रममा राजपा आबद्ध नेता, मन्त्री र सांसद बाहेक समाजवादी आबद्धका व्यक्तिहरू देखिएन भन्‍ने प्रसंगमा उनले भने 'त्यो त मलाई थाहा भएन । हामीबीच संघीय सरकारमा जाने/नजानेबारे मात्रै अन्तरद्वन्द छ, पार्टीको क्रियाकपालपमा हामीसँगै छौं ।' 

दुवै पूर्व पार्टीका नेताहरूद्वारा आयोजित कार्यक्रममा एक अर्काको कार्यक्रममा सहभागी नहुनुले फुटकै संकेत हो भन्‍ने प्रश्‍नमा सचिव यादवले भने 'पार्टीको समायोजन निर्देशिका अनुसार समायोजन भइसकेका क्षेत्रमा दुवैसँगै कार्यक्रम आयोजना गर्दै आएको हो । समायोजन नभएका ठाउँ क्षेत्रमा दुवैले पूर्वरत पार्टीकै हैसियतमा कार्यक्रम आयोजना गर्ने गरेको छ ।'

त्यस्तै पूर्वराजपाका सांसद एवं प्रदेश प्रमुख सचेतक परमेश्वर साहले पनि पार्टीभित्र वैचारिक द्वन्द रहे पनि फुटको संकेत नरहेको बताएका छन् । 'जसपाको ब्यानरमा आयोजित कुनै पनि कार्यक्रम पार्टीको अधिकारिक नै हुन्छन् । जहाँसम्म आतिथ्य वा उपस्थितिको कुरा छ त्यो पूर्वपार्टीको आस्थासँग जोडिएका व्यक्ति सहभागी हुन्छन्' उनले भने 'यसले पार्टी फुट्‌दैन झन मजबूत भएर जान्छ । हामी दुवै पूर्व पार्टीका नेता एवं कार्यकर्ता अन्तरद्वन्द वा मनमुटाव छैन् । हाल हाम्रा मुद्दा सम्बोधन भए संघीय सरकारमा जाने नजाने विषयलाई लिएर वैचारिक द्वन्द हो । सबै एकमत भए हामी सरकारमा जानेछौँ नभए यथास्थितिमै रहने छौँ ।'

जसपाका नेता तथा मन्त्रीहरूले आफूहरूभित्र कुनै मनमुटाव नरहेको दाबी गरे पनि एकअर्काको अस्तित्व स्वीकार्ने पक्षमा छैन । जसको ज्वलन्त उदाहरण हो प्रदेश २ मा एकीकरणपछि नयाँ संसदीय दलको नेता चयन गर्न नसक्नु । पार्टी एकीकरणको एक वर्ष बितिसक्दा पनि दुवै दलका छुट्टाछुटट्टै दलको नेता र प्रमुख सचेतक भई सेवा सुविधा लिँदै आएका छन् ।

पार्टीको नेतृत्व तहले करिब ६ महिना अघि नै दुवै दलका नेतालाई आपसी सम्झदारी गरी नयाँ दलको नेता र प्रमुख सचेतक चयन गर्न भनिसकेको छ । तर एक अर्काको अस्तित्व स्वीकार्न नसकिँदा विवाद अल्झिदै गएको हो । पूर्वराजपाबाट जितेन्द्र सोनल दल र सपाबाट लालबाबु राउत दलको नेता छन् । ती दुवै नेता पुरानै पार्टीको आधारमा मन्त्री पदमा आसिन छन् । दलको नेता चयन भएपछि पद गुम्‍ने डरले एकअर्कालाई छल्दै आएका छन् । राजपाबाट सोनल भौतिक पूर्वाधार विकास मन्त्री छन् भने समाजवादीबाट राउत मुख्यमन्त्री रहेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x