कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा
एमाले नेतृत्वमा सरकार बन्ने संकेत
सुर्खेत : बैशाख ३ गतेबाट कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । यसपटकको अधिवेशन सुरुवात भने फरक ढंगबाट हुने पक्का छ । अल्पमतमा रहेको कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारीमा छन् ।
उनले विश्वासको मत प्राप्त गर्लान् या नगर्लान् त्यो यसै भन्ने अवस्था छैन । तर, उनको मुख्यमन्त्री पद धरापमा भने पक्कै छ । शाही नेकपा माओवादीबाट मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा माओवादी केन्द्रका १२ सांसद छन् । विश्वासको मत लिन २० सांसद आवश्यक पर्छ । कर्णाली प्रदेश सभामा कांग्रेसका ६ जना र राप्रपाका एक जना सांसद लिने हो भने १९ जना सांसद हुन आउँछ ।
विश्वासको मत लिनलाई माओवादी र कांग्रेस र राप्रपाका सांसद जोड्दा पनि आवश्यक संख्या पुग्दैन । यस्तो अवस्थामा नेकपा एमालेको माधवकुमार नेपाल समूहका समर्थन लिनुपर्ने हुन्छ । तर, सर्वाेच्चको फैसलाले एमाले ब्युँतिएपछि एमालेको नेपाल समूहले माओवादी केन्द्रको साथ छोडिसकेको छ ।
यता मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले मुख्यमन्त्री अल्पमतमा नरहेको बताउँछन् । उनले मुख्यमन्त्रीले आगामी संसद् बैठकमा विश्वासको मत लिएर अघि बढ्ने बताए ।
मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेमा संसदलाई नै सम्बोधन गरेर राजीनामा दिनुपर्ने अवस्था आउने एमाले सांसद सुशील थापाले बताए । मुख्यमन्त्रीले अहिले नै राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ । ‘मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत लिन सक्नु हुदैन’ एमाले सांसद थापाले भने, ‘उहाँले राजीनामा दिएपछि एमालेको नेतृत्वमा सरकार गठन हुन्छ ।’
मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा राजीनामा दिएर अघि बढ्नुपर्ने थापाको भनाई छ ‘मुख्यमन्त्रीले माओवादी केन्द्रको १२ जना सांसद्बाहेक १३ जना सांसदको पनि समर्थन लिन सक्नुहुँदैन,’ थापाले भने, ‘यस अवस्थामा उहाँहरूले कसरी विश्वासको मत लिनलाई चुनौती छ ।’
वैैशाख ३ गतेको बैठकपछि एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको सांसद थापाको भनाइ छ । ‘एमालेका १९ जना सांसद भएकाले एमालेको बहुमत पुग्छ’ थापाले भने, ‘एमालेको एकल बहुमत पुग्ने भएकाले धेरै दलसँग सहकार्य नगर्दा पनि बहुमत पुग्छ ।’ माओवादीजस्तो एमालेलाई सरकार बनाउन तीनवटा दलसँग सहकार्य गर्नुपर्दैन ।
कर्णाली प्रदेशसभामा माओवादीका सांसद धर्मराज रेग्मी सोमबार पदमुक्त भएपछि ४० सदस्यीय कर्णाली प्रदेशसभा ३९ सदस्यमा झरेको छ । यता एमाले एकमत भएर विश्वासको मतको विपक्षमा मतदान गरेमा नयाँ सरकार पनि उसकै बन्ने सम्भावना बलियो भएर जाने संकेत देखिएको छ ।
एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले वैशाख ३ गते बोलाइएको संसद बैठकपछि सरकार गठनको विषयमा कुरा उठाउने बताए । मुख्यमन्त्रीले राजिनामा दिने वा विश्वासको मत लिने टुंगोमा लागेपछि मात्र कसको नेतृत्वमा सरकार गठन हुने भन्ने निर्धारण हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया