राजनीति

गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादी नेतृत्‍वको सरकार बनाउने सहमति

सन्तोष अधिकारी |
बैशाख १, २०७८ बुधवार १७:३६ बजे

काठमाडौँ  :  संघीय सरकारमा देखिएको राजनीतिक खिँचातानी प्रभाव प्रदेश सरकारमा पनि देखिएको छ । प्रदेश सरकारहरु पनि फेरबदलको कसरत सुरु भएको छ । सर्वाेच्च अदालतले एकीकरणपछि बनेको नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेश सरकार पनि फेरबदलको कसरत सुरु भएको हो । 

एमाले नेतृत्वको सरकार रहेको गण्डकी र लुम्बिनीमा माओवादीले समर्थन फिर्ताको तयारी गरेको छ । गण्डकी प्रदेशमा अब को मुख्यमन्त्री बन्ने भन्ने विषयमा पनि छलफल टुंगिसकेको छ । गण्डकीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । गण्डकीमा कांग्रेस नेतृत्वको सरकार गठन गर्न माओवादी केन्द्रले समर्थन गर्ने भइसकेको छ ।


त्यसो त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै विज्ञप्ति नै जारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको हो । जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आउने अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बन्ने सम्भावना भएको हो ।  

गण्डकी प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद छन् ।यहाँ एक जना स्वतन्त्र सांसद पनि छन् । तर, एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार टिकाउने या नयाँ सरकार गठन गर्ने भन्ने निर्णायक मत रहेको जनमोर्चाले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएपछि नयाँ सरकार गठनको बाटो खुल्ला भएको हो । त्यसो त, अब बन्ने नयाँ सरकारका लागि बहुमत पनि सुनिश्चित भएको छ । 

गण्डकी प्रदेश सभामा ६० सदस्य प्रदेश सभा सदस्य छन् । यहाँ बहुमतको सरकार गठन गर्न ३१ सदस्य चाहिन्छ । गण्डकीमा सबै भन्दा ठूलो दल रहेको एमालेको २७ जना छन् । कांग्रेसको १५, माओवादी केन्द्रका १३ जना (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादीका २ र स्वतन्त्र एक सांसद् छन् ।गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्री दिने र लुम्बिनी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएको बताइएको छ । ‘हिजो (मंगलबार) सभापति देउवा र प्रचण्डबीच छलफल भएको थियो । उहाँहरुले गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादीलाई मुख्यमन्त्री दिने सहमति गर्नु भएपछि नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्ने क्रममा छ,’ माओवादी गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले इकागजसँग भने । 

उनले अन्य दलसँग पनि छलफल जारी रहेको बताए । ‘कांग्रेस र हाम्रो (माओवादी केन्द्र) बीच गण्डकी र लुम्बिनीमा सहयोग गर्ने समर्थन भएको छ,’ उनले भने, ‘हाम्रोबीच सहमति भयो अन्य दलसँग पनि छलफल गर्दैछौँ । छलफल सकरात्मक रुपमा अघि बढेको छ ।’ पछिल्ला केही दिनयता पोखरामा रहेर कांग्रेस, जसपा र जनमोर्चाका नेतासँग लगातार छलफल गरिरहेका पौडेलले प्रतिगमनविरुद्ध सबै एक ठाउँ हुन लागेको बताए ।

अब गण्डकीमा स्वतन्त्र सांसद रहेका राजीव गुरुङ(दिपक मनाङे) ले मुख्यमन्त्री गुरुङको पक्षमा लाग्ने संकेत गरेका छन् । यति हुँदा पनि मुख्यमन्त्री गुरुङलाई अब बहुमत नपुग्ने पक्का जस्तै भएको छ ।  गण्डकीमा माओवादी केन्द्रले गृहमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापा मगरलाई फिर्ता बोलाएर सरकार फेरबदलको कसरत गरेको थियो । गण्डकी प्रदेश सभमाकांग्रेसका सांसद मेखलाल श्रेष्ठले पनि कांग्रेस र माओवादी केन्द्रबीच दुई प्रदेशमा एक आपसमा सहयोग गर्ने सहमति भएको बताए । 

लुम्बिनीमा माओवादीलाई कांग्रेसले सहयोग गर्ने 

यता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार पनि धरापमा परेको छ । लुम्बिनीमा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपा ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । यहाँ पनि नेकपा एमालेबाहेकका दलहरु वर्तमान सरकार ढाल्नका लागि एकमत भएको बताइएको छ । लुम्बिनीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने सम्भावना छ ।     


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x