राजनीति

मुख्यमन्त्री गुरुङविरुद्ध भोलि अविश्‍वासको प्रस्ताव दर्ता गर्ने विपक्षीको तयारी

मुख्यमन्त्री कांग्रेसलाई, अन्य भागबन्डाबारे छलफल गरिने

अनिष भट्टराई |
बैशाख १, २०७८ बुधबार २०:५९ बजे

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पाेखरेल)

पोखरा : चैत २५ गते माओवादीका २ मन्त्री हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिए । तै पनि एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार धरापमा परिहालेको थिएन, किन कि ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता नलिने बताएको थियो । १ स्वतन्त्रको समर्थन र एमालेका २७ सांसद छँदै थिए । 

तर, बुधबार गण्डकी प्रदेशको गुरुङ सरकार ढल्ने र नयाँ बन्ने निश्चितप्राय भएको दृश्य सार्वजनिक भयो । गुरुङ सरकारलाई दिएको समर्थन फिर्ता लिएर गैरकम्युनिस्ट सरकार बनाउन नहुने राजमो संसदीय दलका नेता कृष्ण थापाको धारणा खण्डित भयो । उनको पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गर्दै गुरुङ सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गरेका छन् । 


जनमोर्चा पनि आफूहरुकै कित्तामा आएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार अविश्वास प्रस्ताव लैजाने गरी कसरत गरेको छ । सत्तारुढ एमाले इतर मोर्चामा अब ३२ सांसद छन् । सरकार ढलाउन ३१ सांसद आवश्यक पर्छ । गुरुङ सरकार ढलाउने गरी बिहीबार ४ दलको बैठक बसेर अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्ने तयारी छ । 

यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको नेतृत्वमा सरकार बन्ने सम्भावना पनि चुलिएको थियो । प्रदेशमा नयाँ सरकार गठन गर्ने विषय तातिएपछि उनी पार्टीका शीर्ष  नेता भेट्न काठमाडौं पुगेका थिए । जनमोर्चाले समर्थन त्याग्ने निर्णय गरेकै दिनमा गण्डकी र लुम्बिनी प्रदेशमा क्रमशः कांग्रेस र माओवादीले सरकार चलाउने भागबन्डा भएको छ । 

केन्द्रकै निर्णय अनुसार कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव लैजाने योजना छ । ४ दलीय मोर्चाबाट बन्ने सरकारमा भने राष्ट्रिय जनमोर्चा सहभागी हुने छैन । नयाँ बन्ने सरकारलाई केबल समर्थनमात्रै दिनेछ । ‘हामी बिहीबार छलफल गर्दैछौं, भ्याएमा भोलि (बिहीबार) नै अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन हुन्छ,’ कांग्रेस सांसद कुमार खड्काले भने, ‘त्यसअघि दल–दलको बैठक बसेर छलफल, माइन्युट र अरु काम गर्दा शुक्रबारसम्म समय लाग्न सक्छ ।’ 

कांग्रेसले भने यसअघि नै आफ्ना सांसदको हस्ताक्षर संकलन गरिसकेको छ । अविश्वासकै प्रस्तावका लागि भनेर हस्ताक्षर संकलन नगरिए पनि पार्टीका सांसदको हस्ताक्षर संकलन गरिएको एक कांग्रेस सांसदले बताए । त्यो हस्ताक्षर अविश्वासकै प्रस्तावमा प्रयोग हुने उनी बताउँछन् । २५ चैतमा माओवादीका तर्फबाट सरकारमा गएका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि सरकार ढलाउने खेल सुरु भएको थियो । नयाँ सरकार बनाउने गरी कांग्रेस, माओवादीले वार्ता कमिटी बनाएर छलफल थालेका थिए ।

छलफल मुख्यतः दुई पाटो बनाएर गरिएको थियो । कांग्रेस वार्ता कमिटीका संयोजक कुमार खड्काका अनुसार पहिला राजनीतिक विषयमा सहमति जुटेपछि प्राविधिक विषयमा प्रवेश गर्ने गरी छलफल चलाइएको थियो । सरकारको नेतृत्व कसले लिने, कुन पार्टीले कति मन्त्रालय पाउने विषयलाई प्राविधिक पाटोमा राखिएको थियो । 

मोर्चाले अहिलेसम्म कुन पार्टीले कति मन्त्रालय चलाउने भन्ने निर्क्योल गरेको छैन । बिहीबारको बैठकले यसको निर्क्योल गर्ने कांग्रेस सांसद खड्काले बताए । गुरुङ सरकारले ७ मन्त्रालय बनाएर काम गरेको थियो । पछि संगठन तथा व्यवस्थान सर्वेक्षण (ओएनएम) गर्दा प्रदेशमा १० वटासम्म मन्त्रालय बनाउन सकिने देखिएको थियो । तर मुख्यमन्त्री गुरुङले मन्त्रालय थपेका थिएनन् । अब बन्ने सरकारले केही मन्त्रालय थपेर जान सक्ने सम्भावना रहेको कांग्रेस स्रोत बताउँछ । ‘गुरुङ सरकारले केही बाध्यात्मक स्थितिमा मन्त्रालय थप गरेको थिएन, मन्त्रालय थप्न पाउने व्यवस्था भए थपेर नै जान सकिन्छ,’ खड्काले भने । 

गण्डकी प्रदेश सभा वैशाख ६ गतेसम्मका लागि स्थगित छ । ६ गतेको बैठक अघि नै अविश्वासको प्रस्ताव पेस गर्ने र संसदमा नयाँ ‘सिनारियो’ बनाउने विपक्षी दलको योजना छ । 

डटेर सामना गर्छु  : मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्री गुरुङ बजेट ल्याउने समयमा सत्ता र स्वार्थलाई केन्द्रमा राखिनु गलत भएको र यस्ता कदमको डटेर सामना गर्ने बताउँछन् । 'बजेटको तयारी गर्ने बेला भएको छ । कोरोनाको सेकेन्ड भेरिएन्टले गाँज्दै छ । यस्तो बेलामा पनि सत्ताको खेल ?,' प्रश्‍न गर्दै उनले भने, 'के जाती ले के को चिन्ता कुन्नीके लाई खानकै चिन्ता भनेझैं यिनिहरुलाई सत्ताको मात्र लोभ रहेछ । वामपन्थी सरकारको विरोध गरेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्नु आफैंमा प्रतिगामी कदम हो । सत्ता र स्वार्थलाई केन्द्रमा राखेर ल्याउन लागिएको यो प्रस्तावको डटी सामना गर्छु । विपक्षीलाई जनहितको मतलब रहेनछ ।'

कम्फर्टेबल सरकारतिर सोझाइदिएः कृष्ण थापा,जनमाेर्चा 

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा पार्टी केन्द्रीय निर्देशन अनुसार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए त्यसैको पक्षमा मतदान गर्ने बताउँछन् । उनले अब सरकारलाई दिएको समर्थन फिर्ता गरिने पनि बताए । 

‘हामीले सुरुमा पनि केन्द्रकै निर्णय अनुसार गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई साथ दिएका थियौं । अहिले फेरि केन्द्रले साथ नदिने निर्णय गरेको छ । वक्तव्य आयो, हेरियो, पढियो । अब साथ छाड्ने भनेपछि छाड्नै पर्ने भयो । छाड्दिनँ भन्न मिलेन । केन्द्रकै निर्णय अनुसार हामी अब बन्ने सरकारलाई समर्थन गर्छौं,’ उनले भने, ‘सरकारमै चाहिँ जाँदैनौं । यहाँ कांग्रेसलगायत दलले अविश्वासको प्रस्तावमा हस्ताक्षर उठाउने भन्ने सुनेको छु । तर म हस्ताक्षर गर्दिनँ । मेरो दलका अन्य २ जना सांसदले पनि गर्नहुन्न । हामी अविश्वासको प्रस्तावमा केन्द्रले भनेझैं मतदान गर्छौं तर हस्ताक्षर गरेरै त जाँदैनौं ।’ 

उनले अहिलेसम्म मुख्यमन्त्री गुरुङ र उनी नेतृत्वको सरकारलाई समर्थन रहेको पनि बताए । ‘अहिलेसम्म मुख्यमन्त्री गुरुङलाई नै समर्थन त छ । तर अब समर्थन झिकिदिनुपर्‍यो,’ उनले भने, ‘कम्फर्टेबल सरकार बनाउन । हाम्रो दल उनीहरुलाई गौंडो कटाउन काँध थापिदिन्छ । अनि कम्फर्टेबल सरकारले गर्ने कामहरू झ्यालबाट हेरेर बस्छ, अरु विकल्प रहेन ।’  


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x