राजनीति

संसद्‍को कार्यकाल लम्ब्याउनेबारे संसद्‍मा नै छलफल गरेर निर्णय हुन्छः मन्त्री कार्की

इकागज |
भदौ २०, २०७९ सोमबार २१:४ बजे

काठमाडौँ- सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्‍को कार्यकालको विषयमा संसद्‍मा छलफल चलिरहेको बताएका छन् ।

संसद्‍को कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले संसद्‍को कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरू परेको उल्लेख गर्दै संसद्‍को कार्यकाल संसद्‍को सम्पत्ति भएकोले संसद्‍मा नै छलफल गरेर निर्णयमा पुग्ने बताए ।


उनले भने, ‘संसद्‍को कार्यकालको विषयमा संसद्‍मा छलफल चलिरहेको छ । त्यसमा संसदीय प्रक्रियाअनुसार संशोधनहरू परेका छन् । त्यो संसद्‍कै सम्पत्ति हो । संसद्‍मा नै छलफल गरेर निर्णयमा पुग्छौँ ।’

मन्त्री कार्कीले आज बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनको सिट बाँडफाँटबारे छलफल गरेको बताए । उनले मंगलबार पुनः बैठक बस्ने र शीर्षस्थ नेताहरुले दिएको जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको बताए ।

सञ्चारमन्त्री कार्कीले आजको बैठकमा मुख्यतः प्रतिनिधि सभाको सिटको बारेमा मात्रै छलफल भएको बताए ।


Author

थप समाचार
x