एमाले कर्णालीले गर्यो तीन सय १४ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
सुर्खेत - आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको अध्यक्ष शाहले जानकारी दिए । यस्तै शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि एमाले कर्णाली प्रदेश कमिटिले सिफारिस भएकाहरूको नाम केन्द्रमा पठाउने निर्णय पनि गरेको छ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको वैठकले प्रदेशका १० वटै जिल्लाबाट सिफारिस भएका उम्मेदवारका नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।
आगामी मंसिर ४ गते हुने चुनावका लागि संघ, प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको एमाले कर्णाली प्रदेशले जनाएको छ ।
प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले आसन्न निर्वाचनका सन्दर्भमा जिल्लाहरूबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख सुर्यमणि गौतमले बताए । उनले पार्टीको बैठकमा चुनावी तयारीका विषयमा व्यापक रुपमा छलफल भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया