राजनीति

कांग्रेस र माओवादीले गठबन्धनको नाममा सत्ता कब्जा गर्न लागे : अध्यक्ष यादव

सुभाष कर्ण |
भदौ २५, २०७९ शनिबार २१:३३ बजे

जनकपुरधाम-  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितका दलले गठबन्धनको नाममा सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् ।

शनिबार पिछडा वर्ग महासंघ (ओबीसी) को तेश्रो राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, 'पछिल्लो पटक प्रतिगमनका विरुद्ध हामीले गठबन्धन गरेका थियौं न कि चुनावका लागि, अहिले कांग्रेस कम्युनिष्टहरूले साे को फाइदा उठाउँदै सत्ता कब्जा गर्न लागे ।'


उनले गठबन्धनको नाममा आँखा बन्द गरेर कांग्रेस र कम्युनिष्टहरूमाथि विश्वास गर्ने जस्ता आत्मघाती कदम उठाउने भन्दै हैसियतको आधारमा सिटमा तालमेल नभए गठबन्धनमा नबस्ने चेतावनी दिए ।

अध्यक्ष यादवले गठबन्धनमा बराबरीको हक नदिए जसपाले गठबन्धन बाहिर रहेर पनि काठमाडौँमा एक्लै चुनाव लड्ने जिकिर गरे । 'लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले सडक आन्दोलन गर्यो, तर आज हामीलाई कमजोर बनाउन गठबन्धनको नाममा कमजोर बनाउन खोजिँदैछ,' उनले भने ।

उनले जसपा समग्र ओबीसी र मधेशीलाई एकजुट हुन आग्रह समेत गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ओबीसीमा आबद्ध जाति एकजुट भईदिए आफ्नै सरकार बनाउन सक्छ भने कुनैपनि सरकारलाई हटाउन पनि सक्ने बताउँदै सम्पूर्ण पिछडा वर्गलाई एकजुट हुन आग्रह गरे ।

उनले ओबीसीमा रहेका जातिहरू आफ्नै कमीका कारण कमजोर रहेको चर्चा गर्दै पछिल्लो पटक बजेट विनियोजन गरेपनि काम गर्न नसकेकाे उल्ले गरे । उनले भने, 'हामी सरकारमा बसुञ्जेलसम्म कानुन बनाउन नसकेपनि जाँदाजाँदै गठन अध्यादेशमार्फत भएपनि ओबीसीको सरकारी स्तरमा संगठन बनाउने प्रतिबद्धता छ ।'

सो कार्यक्रममा प्रदेश सभा सदस्य रामआशिष यादवले ओबीसीमा रहेका जातिहरूको हकहितका बारेमा कुरा गर्ने र सहयोग गर्ने पार्टीलाई मात्र आगामी निर्वाचनमा जिताउन आग्रह गरे ।

ओबीसी महासंघका अध्यक्ष भरत महतोको अध्यक्षता सम्पन्न सो कार्यक्रममा जसपाका केन्द्रीय सदस्य लालकिशोर साह र बलराम महतो लगायतका वक्ताहरूले आ-आफ्ना धारणा राखेका थिए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x