कोरोना बढेपछि नेपालगञ्जका सबै शैक्षिक संस्था बन्द
बुटवल : कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाभित्रका शैक्षिक संस्था शुक्रबारदेखि बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिइन्। ।
नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।
मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाइ कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घर बाहिर मास्क नलगाइ आवागमन गर्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाइ सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । छिमेकी मुलुक भारतमा तीव्ररूपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया