राजनीति

माओवादी छोडेर एमाले बनेका कर्णालीका सांसदको प्रश्न : आफ्नै सांसद टिकाउन नसक्नेले कसरी लिने विश्वासको मत ?

इकागज |
बैशाख २, २०७८ बिहीबार १९:१४ बजे

सुर्खेत :  नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेर सांसद पद गुमाएका धर्मराज रेग्मीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा रहेकोले विश्वासको मत लिन नसक्ने दाबी गरेका छन् । 

भोलि हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले माओवादीका सांसद बाहेक अन्य सांसदबाट विश्वासको मत लिन नसक्ने बताए । ‘आफ्नै माओवादीका सांसदलाई त टिकाएर राख्न नसक्नेले विश्वासको मत कसरी लिनुहुन्छ’ बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी रेग्मीले भने, ‘उहाँलाई समर्थन गर्ने भनेको १२ जना माओवादीका सांसद मात्र हो ।’


रेग्मीले शुक्रबार दिउँसोसम्म कर्णाली सरकारको विषयमा टुंगो लाग्ने बताए । माओवादी, काँग्रेस र राप्रपा मिले पनि एमालेको सहयोगबिना मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्ने बताए ।‘अहिलेको अवस्थासम्म प्रमुख प्रतिपक्षी दल काँग्रेस मौन रहेको बेला कसरी समर्थन पाउन सक्नुहोला  र ?,’ उनले भने, ‘मुख्यमन्त्रीलाई काँग्रेसले समर्थन गर्लान जस्तो मलाई लाग्दैन ।’

उनले पूर्वाग्रही आधारमा सरकार सञ्चालन गर्न नहुने बताए । पत्रकार सम्मेलनमा रेग्मीले माओवादी केन्द्रका अध्यक्षमाथि गम्भीर आरोप लगाएका छन् । उनले स्पष्टीकरणको मौकासमेत नदिएर कानुनी व्यवस्थाको धज्जी उडाउँदै जननिर्वाचित सांसदको पद फालिएको आरोप लगाएका छन् । रेग्मीले दलीय जिम्मेवारीबाट च्यूत गर्न सक्ने भए पनि जननिर्वाचित निकायबाट च्यूत गर्ने हैसियत पुष्पकमल दाहालको नरहेको दाबी गरेका छन् ।

उनले एकातिर माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर, आफूहरु तिनै ओलीलाई सहयोग गर्दा दाहालको कारबाहीको भागिदार हुनुपरेको बताएका छन् । ‘उहाँ (दाहाल) दिनभरी केपी ओलीलाई गाली गरे पनि उहाँलाई समर्थन गरिरहनुभएको छ,’ रेग्मीले भने, ‘तर मैले प्रधानमन्त्रीलाई समर्थन गर्दा पदच्यूत हुनुपर्ने ।’

हाल नेकपा एमालेको कर्णाली प्रदेश सचिव रहेका रेग्मीले प्रदेशसभा सदस्यका रूपमा आफ्नो तीन वर्षे कार्यकाल कर्णालीका जनताको सर्वोत्तम हित, लोकतन्त्र, सुशासन, भ्रष्टाचार विरोधी अभियानमा लागेको बताए । 


Author

थप समाचार
x