राजनीति

गठबन्धनका शीर्ष नेता पाँच घन्टादेखि छलफलमै, आजै सिट बाँडफाँटको टुंगो लगाउने तयारी

इकागज |
भदौ २७, २०७९ सोमबार १६:२७ बजे

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरू बैठक खाना, खाजापछि पनि चलिरहेको छ । 

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल' प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँटसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी छन् ।


कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँटमा सकस परेको हो ।

कार्यदलका एक सदस्यले आजै सिट बाँडफाँटको टुंगो लगाउने बताए । ‘सम्भवतः आजको बैठक सिट बाँडफाँटबारे एउटा सहमतिमा पुग्छ होला । प्रदेशको पनि सिट बाँडफाँट गर्नुपर्ने भएकाले प्याकेजमै टुंगो लगाउने कि भन्ने मत केही नेतामा देखियो,’ उनले भने ।

कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ ।


Author

थप समाचार
x