राजनीति

सिट बाँडफाँट सम्पन्न गर्न सबै दलहरू लचिलो हुनुको विकल्प छैनः मन्त्री कार्की

इकागज |
भदौ २७, २०७९ सोमबार १७:४४ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरू लचिलो हुनुको विकल्प नरहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरूको छलफलका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल निर्णयको नजिक रहेको जिकिर गरे ।


मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताए । उनले बैठकमा द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रूपले छलफल प्रारम्भ भएको जानकारी दिए । मन्त्री कार्कीले दलहरूको आ-आफ्नो अडान कायम रहेको भन्दै दलहरूका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरूले आ-आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको उल्लेख गरे । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्रका पाँच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहेको छ ।


Author

थप समाचार
x