राजनीति

महाभियोग सिफारिस समिति बैठक बुधबार पनि

इकागज |
भदौ २८, २०७९ मंगलबार १८:१३ बजे

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार (भोलि) पनि महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन भोलि बिहान नौ बजे समितिको बैठक पुनः बोलाइएको हो । जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।


जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । आजको बैठकमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बर सम्मको प्रश्न सोधी जवाफ लिने काम भएको समितिको जनाएको छ । प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरूलाई पनि आवश्यक्ता अनुसार बयान लिने समितिको योजना छ ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने महाअभियोग सिफारिस समितिका सबै बैठकहरू प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ ।

यसअघिका बैठकका निर्णयहरू गलत ढंगले आम सञ्चार माध्यममा प्रशारण भएकाले त्यसो हुन नदिन अबका सबै बैठकहरू प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाउन आफूहरूले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिए ।

सत्तारुढ दलका नेताहरूले समितिको गतिविधिलाई आफू अनुकूल हुने गरी समाचार माध्यममा दिएको भन्दै बैठकमा एमालेले असन्तुष्टि जनाएकाे थियाे ।


Author

थप समाचार
x