राजनीति

कर्णालीमा विश्वासको मत विफल पार्न एमालेको 'प्‍लान' होला त सफल ?

लक्ष्मी भण्डारी |
बैशाख ३, २०७८ शुक्रबार ९:८ बजे

सुर्खेत : कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज संसद्‌बाट विश्वासको मत लिँदैछन् । उनको विश्वासको मत विफल पारेर आफ्नो नेतृत्वमा सरकार गठन गर्नको लागि एमाले एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ ।

काँग्रेससँगको छुट्टाछुट्टै भेटपछि हिजो राति एमालेका चार शीर्ष नेताहरुको छलफल भएपछि एमाले एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको एमालेका सांसद सुशिल थापाले जानकारी दिए । ‘हिजो राति एमालेका चार जना शीर्ष नेताहरु यामलाल कँडेल, गुलाबजंग शाह, प्रकाश ज्वाला र चन्द्रबहादुर शाही  बस्‍नुभयो’ थापाले भने, ‘एमाले सबै एक ठाउँ बसेर आज बैठक बस्‍ने र त्यसपछि सबै सँगै जाने निर्णय भएको छ । सबैलाई आफ्नो नियम पालना गर्ने निर्देशन भएको छ ।’ ओली पक्षका सांसदहरुलाई माधव नेपाल पक्षका सांसदबाट घात हुन्छ की भन्‍ने शंका रहिरहेको बेलामा सबै सांसदहरु एकैसाथ संसद्‌मा गएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने सम्भावना देखिँदैन । 


काँग्रेससँगको बसाईमा पनि काँग्रेसले विश्वासको मत पनि नदिने र एमालेको सरकार गठनमा सहकार्य गरेर जाने कुरामा सहमत भएको थापाले बताए । ‘हिजो काँग्रेससँग पनि छलफल गरेका थियौँ । आजको काम सम्पन्‍न भएपछि नयाँ सरकारमा कसरी जाने भन्‍नेमा छलफल भयो’ सांसद थापाले भने, ‘उहाँहरु विश्वासको मत कसैलाई पनि नदिने र एमालेको सरकार गठन गर्दा सहकार्य गर्ने भन्‍ने सहमत गर्नुभएको छ ।’ राप्रपाले पनि एमाले नेतृत्वको सरकारलाई साथ दिने सहमति भएको उनको भनाई छ । 

अहिले कसरी अगाडी बढ्ने भन्‍ने विषयमा काँग्रेसका सांसदहरु छलफलमा रहेका छन् । ‘हामी आजको विश्वासको मत दिने/नदिने भन्‍ने विषयमा छलफल गर्दैछौँ’ काँग्रेस सांसद अमृता शाहीले भनिन्, अहिले भर्खर बैठक सुरु हुँदैछ ।’

अघिल्लो महिना नै प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज दिउँसो विश्वासको मत लिँदैछन् । सत्तारुढ नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार यतिबेला अल्पमतमा रहेको छ ।

शाहीले विश्वासको मत लिने तयारी गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयास तीव्र पारेका छन् । आफ्नो पक्षमा विश्वासको मत पार्नको लागि नेपाली काँग्रेसले माओवादी केन्द्र र एमालेसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । दिउँसोसम्ममा फकाउन सकिन्छ कि भन्‍ने कुरामा प्रयास गरिरहेका छन् ।

अहिले कर्णालीमा सत्ताका लागि रस्साकस्सी चलेको छ । संसद्‌मा भएका जम्मा ४० सिटमध्ये एमालेतिर लागेका धर्मराज रेग्मीलाई माओवादीले कारबाही गरेपछि अब ३९ सिट मात्र बाँकी छ । सभामुखलाई छाडेर आजको मतदानमा एमालेका तर्फबाट मत दिने १९ सांसद छन् । यता १२ माओवादी, ६ कांग्रेस र १ राप्रपा मिल्ने हो भने पनि १९ नै पुग्छ । यस्तोमा मत बराबर भएमा सभामुख नै निर्णायक हुनेछन् । सभामुख एमालेकै भएका कारण आजको मतदानमा मुख्यमन्त्री शाहीले विश्वासको मत आफ्नो पक्षमा पार्न नसक्ने चर्चा छ ।


Author

थप समाचार
x