बाँस्कोटालाई लेखा समितिबाट फिर्ता गर्न माग
फाइल फोटो
काठमाडौँ : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समितिको सदस्य तोकिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरेको छ ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो टेप’ सम्बन्धी प्रकरणको छिनोफानो नहुँदै लेखा समितिमै तोकिनु भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको ‘शून्य सहनशील’ नीतिको विरुद्ध भएको जिकीर ट्रान्सपरेन्सीको छ ।
‘यो निर्णय नेपाल सरकारको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशिलता’ नीतिको प्रतिकूल छ’ ट्रान्सपरेन्सीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बाँस्कोटालाई लेखा समितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद् र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको सिफारिसमा केही दिनअघि सभामुखले बाँस्कोटालाई लेखा समितिमा पठाएको जानकारी प्रतिनिधि सभा बैठकमै दिएका थिए ।
‘एमाले संसदीय दलको नेता प्रधानमन्त्री स्वयंम भएको हुँदा आफ्नै मान्यता विपरीतको यो निर्णय सच्याउनेतर्फ अग्रसर हुन जरुरी छ’ उसले भनेको छ, ‘मुलुककै ठूलो र जिम्मेवार सत्तारुढ पार्टीले आरोपित व्यक्तिलाई लेखा समितिमा पठाउने कार्य सुशासनविरुद्ध भएको हुँदा त्यो निर्णय तत्काल फिर्ता लिन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल माग गर्दछ ।’
लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानबिन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो । लेखा समितिले छानबिन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था छ ।
बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखा समितिमा पठाइनु सर्वथा अनुचित भएको धारणा ट्रान्सपरेन्सीको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया