राजनीति

कर्णालीमा एमालेभित्रै विद्रोह, यी चार जना जसले शाहीलाई मत दिए

लक्ष्मी भण्डारी |
बैशाख ३, २०७८ शुक्रबार १८:६ बजे

सुर्खेत : नेकपा एमालेभित्र विद्रोह सुरु भएको छ । पार्टीमा समानान्तर कमिटी गठन गरेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उत्रिरहेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह कर्णालीमा आफ्नै दलको प्रस्तावको विपक्षमा देखिएको छ । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर आफ्नै पार्टीले दर्ता गरेको अविश्वासको प्रस्तावको विपक्षमा नेपाल समूह लागेको हो । 

एमालेका चार सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापाले शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् ।  
४० सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका मुख्यमन्त्री शाहीले आज आफ्नो पक्षमा २२ जनाको विश्वासको मत पाए भने उनको विपक्षमा जम्मा १७ जना सांसदले मत दिए । यहाँ विश्वासको मत लिन २१ मत पाउनै पर्ने अवस्था थियो । यस्तो अवस्थामा शाहीले एमालेको माधव नेपाल समूहका चार सांसदलाई आफ्नो पक्षमा मत हाल्ने अवस्था तयार पारे ।  मतदात प्रक्रियामा जम्मा ३७ जना सहभागी थिए ।


‘मलाई विश्वासको मत प्राप्त भयो । सोही अनुसारले अघि बढ्छु,’ विश्वासको मत पाएपछि प्रदेश सभाबाट बाहिरिने क्रममा मुख्यमन्त्री शाहीले भने । उता एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका सांसद दल रावलले आफ्नै पार्टीका सांसदले ह्वीप उल्लंघन गरेको बताए ।

‘पार्टीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप लगाएको थियो । उहाँहरुले ह्वीप उल्लंघन गर्नुभयो,’ निवर्तमान सामाजिक विकासमन्त्रीसमेत रहेका दल रावलले भने, ‘अब उहाँहरुलाई पार्टीले कारबाही गर्छ ।’  
नेपाली कांग्रेसका दलका नेता जीवनबहादुर शाहीले विश्वासको पक्ष र विपक्षमा मतदान हुनुअघि शाही सरकारलाई कांग्रेसले विश्वासको मत दिने बताएका थिए । 
कर्णालीमा एमालेका २० (सभामुखसहित), माओवादीका १३ (हाल १२) कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।  
 


Author

थप समाचार
x