राजनीति

राष्ट्रपतिको कदम असंवैधानिक : पूर्वराष्ट्रपति यादव

सुभाष कर्ण |
असोज ५, २०७९ बुधबार १७:० बजे

जनकपुरधाम- पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगर्नु भनेको असंवैधानिक कदम रहेको बताएका छन् । 

बुधबार जनकपुरधामको सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, 'संसद्‍बाट दोश्रोपटक पारित भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । तर, त्यसको पालना नगर्नु भनेको असंवैधानिक कदम हो ।'


राष्ट्रपतिको यो कदम असंवैधानिक मात्र नभई देशकाे सर्वोच्च तथा गरिमामय संस्थाको गरिमा नै भंग भएको आरोप लगाए । उनले भने, 'राष्ट्रपतिले दोस्रोपटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर संसद्को मात्र नभई राष्ट्रपति कार्यालय जस्तो संस्थाको गरिमा समेत उल्लंघन गरेको देखिएको छ ।'

पूर्वराष्ट्रपति डा. यादवले पाँच दलीय सत्ता गठबन्धन, नागरिक समाज र संचार जगतको संघर्षबाट तयार पारिएको नागरिकता विधेयक सदनबाट निर्माण गरेर पठाइए पनि त्यसको प्रमाणीकरण दोस्रोपटक पनि नगरेर संविधान माथि नै प्रहार भएकाले यसको अस्तित्व बचाउन आग्रह गरे । नागरिकता विधेयक पारित नगर्नु राष्ट्रपतिको यो कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने भन्दै उनले सम्पूर्ण नेपाली जनतालाई सचेत हुन आग्रह समेत गरे ।

उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा गएको पनि जिकिर गरे ।

विभिन्न विकल्प हुँदाहुँदै त्यो बाटो नरोजेर राष्ट्रपतिबाट असंवैधानिक कदम चाल्नु यो सामान्य घटना नभई लोकतन्त्रका लागि अनिष्टकारी रहेको भन्दै उनको यो कदमले संविधानमाथि फेरि कालो बादल लागेको भनी चिन्ता व्यक्त गरे ।

उनले भने, ‘राष्ट्रपतिले विभिन्न मुलुकका अभ्यास हेर्नु सकिन्थ्यो, कानुनविद् तथा संविधानविद्हरूसँग छलफल गरेर अगाडिको कदम उठाउन पर्थ्याे । यसका अतिरिक्त अन्य धेरै विकल्पहरू हुँदाहुँदै त्यसो नगरी संविधानमै नभएको व्यवस्था चाल्नु भनेको असंवैधानिक कदम मात्र नभई लोकतन्त्रका लागि यो अनिष्टकारी हो ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x