राष्ट्रपतिकाे कदमविरुद्ध प्रदर्शनसहित पुत्ला दहन र चक्काजाम
जनकपुरधाम- नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा बुधबार मधेश केन्द्रित दलहरूले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला दहन र चक्काजाम गरेका छन् । प्रदेशका प्रमुख प्रतिपक्षी दल लोसपाले विरोध प्रदर्शन स्वरूप जनकपुरधामको पिराडी चोकमा विराेध प्रदर्शन र चक्काजाम गरेका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले नगरमा विरोध प्रदर्शन गर्दै जनकपुरधामस्थित जनक चोकमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नगर अध्यक्ष विष्णुदेव साहले दोश्रोपटकमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि मधेश विरोधी भावनाले ग्रसित भई विधेयक खारेज गराएको विरोधमा राष्ट्रपतिको पुत्ला दहन गरिएको बताए ।
विरोध प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरूले 'राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद', 'दलीय कठपुतली नबनी संविधान र लोकतन्त्रको रक्षा गर' लगायतका नाराबाजी गरेका थिए ।
यता लोसपा निकट लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । लोसपाले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।
'संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ,’ भनी स्पष्ट रूपमा उल्लेख रहेपनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गरेकाले तमलोपाले उनको राजीनामा माग गर्दै पुत्ला जलाएको बताएका छ ।
तमलोपाकी नेतृ विभा ठाकुरले भनिन्, ‘संविधानको घोर उल्लंघन र आफ्नै देशका जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणका लागि पनि योग्य हुन सक्दैन । त्यसैले हामीले राष्ट्रपति भण्डारीको तत्काल राजीनामाको माग गरेका हौं ।’
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई लिएर दलहरू दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरूले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलहरू राष्ट्रपतिको पक्षमा देखिएका छन् ।
प्रतिनिधि सभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्दा प्रदेशकाे राजधानी जनकपुरधाम मात्रै होइन प्रदेशका ८ वटै जिल्लामा विरोध प्रदर्शन भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया