राजनीति

कांग्रेस त्यागेर कञ्चनपुर-२ बाट स्वतन्त्र उम्मेदवारी दिँदै इन्जिनियर अवस्थी

इकागज |
असोज ६, २०७९ बिहीबार १४:३४ बजे

काठमाडौँ- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा कञ्चनपुर–२ बाट इन्जिनियर जगदीश अवस्थीले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्य समेत रहेका उनले पार्टी विधि पद्धतिमा नचलेको भन्दै स्वतन्त्र उम्मेदवारी दिन लागेका बताए ।

‘कांग्रेस पार्टीमा लागेर काम गरिहेको थिएँ,’ उनले इकागजसँग भने, ‘स्थानीय निर्वाचनमा घोषणापत्रसमेत लेखेको थिएँ । तर, पार्टी विधि पद्धतिमा चलेन । त्यसैले स्वतन्त्रबाट उम्मेदवारी दिँदै छु ।’



सिभिल इन्जिनियरिङ्गमा डिप्लोमा गरेका उनले विभिन्न जिल्लाहरूमा प्राविधिक परामर्शदाताको रूपमा काम गर्दै आएका छन् । आगामी निर्वाचनमा स्थापित दलका नेताहरूलाई हराएर जित निकाल्न भने उनलाई सहज छैन ।

०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार नरबहादुर धामी विजयी भएका थिए । उनले कांग्रेसका नारायण प्रकाश साउदलाई हराएका थिए । धामीले ३३ हजार २ सय २० मत ल्याउँदा साउदले २४ हजार ८ सय ९३ मत मात्रै ल्याएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दिएका अवस्थी कांग्रेस उम्मेदवारका लागि चुनौती बन्न सक्छन् । यद्यपी गठबन्धनले को उम्मेदवार उठाउने भन्ने अझै टुंग्गो लागिसकेको छैन ।


Author

थप समाचार
x