प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप बालेर बसेका छन् : अध्यक्ष दाहाल
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका हुन् ।
उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने काम संविधानमाथिको प्रहार भएको बताए । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाइ छ । उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राखे । देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरू प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप बालेर बसेको उल्लेख गरे ।
नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ । प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा राखे ।
उनले तीन खम्बे अर्थ नीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको विकास गर्नुपर्ने बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया