राजनीति

निर्वाचनमा प्रचार गर्न पाउने व्यवस्थालाई विचार गर्न आयाेगलाई दलहरूकाे सुझाव

इकागज |
असोज ९, २०७९ आइतबार १७:५८ बजे

काठमाडौँ- सरकार र राजनीतिक दलहरूले आगामी निर्वाचनमा गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार निर्वाचन आयोगले गरेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न दलका प्रतिनिधिहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउनका लागि गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरूले निर्वाचन आचारसंहिताको प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।


छलफलका क्रममा मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्थालाई पुनर्विचार गर्न आग्रह गरिएको माओवादी केन्द्रका नेता लिलामणी पोखरेलेले जानकारी दिए । उनले दल दर्ताका लागि २५ जनामा मात्रै जान पाउने व्यवस्था र निर्वाचन सुरु हुनुभन्दा १७ दिन अघि मात्रै प्रचार गर्न पाउने व्यवस्थालाई विचार गर्न पनि सुझाव दिएको उनले बताए। आयोगले व्यवहारिक पक्षलाई विचार गर्ने जनाएको उनले बताए ।

त्यस्तै लोसपाका नेता केशव झाले छलफलका क्रममा प्रचार प्रसारको व्यवस्थामा सबै दलले असहमति जनाएको र व्यवहारिक बनाउने विषयमा छलफल गर्ने आश्वासन आएको जानकारी दिए ।

छलफल पछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलका क्रममा प्रधानमन्त्री लगायत सबै राजनीतिक दलका प्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको जानकारी दिए । उनले सबै राजनीतिक दलहरूसँग छलफल गरेर नै आचारसंहिता बनाएको भन्दै आगामी दिनमा पनि दलहरूसँग छलफल गर्दै सहजीकरण गर्ने बताए । उनले दलहरूसँगको सहमतिमा संशोधन गर्न आवश्यक परे संशोधन गरिने धारणा राखे ।

प्रवक्ता पौडेलले निर्वाचन खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था रहेकाले, खर्च नबुझाउनेलाई कारबाही गर्ने कानुनी व्यवस्थालाई आयोगले कार्यान्वयन मात्रै गरेको जिकिर गरे । आयोगले निर्वाचन खर्चका बारेमा पुन छलफलहरूसँग छलफल गर्ने जनाएको छ । 


Author

थप समाचार
x