राजनीति

फ्लोर क्रस इफेक्ट:

कर्णालीमा माओवादीको सरकार जोगाउने एमाले सांसदलाई मन्त्री उपहार

इकागज |
बैशाख ४, २०७८ शनिबार २१:१८ बजे

सुर्खेत : नेपालमै पहिलोपटक पार्टीको ह्वीपलाई बेवास्ता गर्दै माओवादी केन्द्रको सरकार जोगाउने एमाले सांसदलाई मुख्यमन्त्री महेन्द्र शाहीले मन्त्री पदको उपहार दिएका छन् । शुक्रबार फ्लोर क्रस गर्दै सरकार जोगाउने एमाले सांसद नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले चौबिस घण्टा नबित्दै मन्त्रीमा नियुक्त गरेका हुन् ।

बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन् । यस्तै अमरबहादुर थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त भएका हुन् । बुढा भने दोहोरिएर मन्त्री बन्ने भाग्यमानी सांसद रहे ।


निवर्तमान पर्यटनमन्त्री रहेका उनी दुई हप्तामा फेरि मन्त्रीको कुर्सीमा बसेका हुन् । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका चार सांसदले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएका थिए ।

आइतबार थप मन्त्रीको टुंगो लाग्नेछ । यसपटक नेपाली कांग्रेसलाई पनि सरकारमा ल्याउने र अहिले मन्त्री रहेकालाई राजीनामा गराएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको माओवादी केन्द्र निकट नेताहरुले बताएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद समावेशी बनाउन दलित समूदायबाट पनि एक जनालाई मन्त्रीमा नियुक्त गर्ने तयारी छ । 


Author

थप समाचार
x