‘निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सशस्त्रको भूमिका महत्वपूर्ण’
काठमाडौँ- गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय आज आयोजित एक समारोहलाई सम्बोधन गर्दै सचिव सिंहले सशस्त्र प्रहरीले सीमित स्रोत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ खटिएको भन्दै प्रशंसा गरे ।
उनले प्रतिकूल अवस्थामा रहेका सीमा सुरक्षा चौकीको सुधारका लागि समयानुकूल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताए । गृहसचिव सिंहले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिले आफू मातहतका कर्मचारीलाई उचित रूपमा परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।
सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कायम गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्नेछन् भन्ने अपेक्षा राखेको बताउँदै उनले सीमा सुरक्षामा कठिन परिस्थितिका बीच परिचालित कर्मचारीप्रति उच्च सम्मान प्रकट गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकलाई निर्देशन दिए ।
सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीलाई सदैव शिरमा राखेर उच्च नैतिकता, इमान्दारीता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धारलगायतका विविध जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनुपर्ने बताए ।
महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया