राजनीति

कर्णालीका तीन मन्त्रीको शपथ ६ बजे

इकागज |
बैशाख ५, २०७८ आइतबार १५:२ बजे

सुर्खेत : कर्णालीमा नवनियुक्त तीन जना मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिने भएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीले आज बेलुका ६ बजे बजे पद तथा गोपनीयताको सपथ लिने भएका हुन् ।  

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार तीन जना मन्त्रीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ गराउने छन् । नवनियुक्त मन्त्रीहरुलाई बेलुका ६ बजे सपथ खुवाउने गरि कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । आफूले तीन जना नयाँ मन्त्री नियुक्त गरेको र शपथ गराईदिन मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख कलौनीलाई कार्यालयमै पुगेर मन्त्रिपरिषद पुनर्गठन भएको पत्र दिएका थिए । 


शनिबार ‘फ्लोर क्रस’ गरेर एमाले माधव नेपाल समूहका चार जना सांसदले मुख्यमन्त्री शाहीको सरकार जोगाएका थिए । त्यसमध्ये तीन जना सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गर्ने सांसद नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरुमा बुढालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शाहीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र थापालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । 


Author

थप समाचार
x