प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारले स्वघोषणामा के-के विषय समावेश गर्नुपर्छ ?
काठमाडौँ- मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भएको छ । मनोनयनपत्र दर्ता गराउने दिन उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भएको हो ।
उम्मेदवारले नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।
आयोगका अनुसार उम्मेदवार कुनै पनि संघीय कानूनले अयोग्य नभएको हुनुपर्नेछ । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको ।
सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको हुनुपर्नेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको अयोग्यता नभएको हुनुपर्नेछ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारबाही नभएको हुनुपर्नेछ । प्रतिनिधि सभा निर्वाचन २०७९ तथा प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्द सूचीमा नरहेको हुनुपर्नेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ तथा प्रदेश सभा २०७९ निर्वाचनका लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेश नगरेको हुनुपर्नेछ ।
उम्मेदवारले कुनै पनि सरकारी निकायलाई जिन्सी वा नगदी बुझाउँन बाँकी रहेको हुनु हुनेछैन । सरकारी पेश्की, बेरुजु तिर्न बाँकी नरहेको हुनुपर्नेछ । विदेशको स्थायी आवाशीय अनुमति पत्र नलिएको ( डीभी/पीआर) हुनुपर्नेछ ।
न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय र जरिवाना तिर्न बाँकी नरहेको हुनुपर्नेछ । प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजश्व शुल्क र दस्तुर बुझाउँन बाँकी नरहेको हुनुपर्नेछ ।
उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्नेछ । नेपालको संविधान कानून र निर्वाचन ऐन नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको हुनुपर्नेछ ।
निर्वाचित भएको अवस्थामा मनोनयनपत्र साथ सिलबन्दी रुपमा पेश गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मञ्जुर भएको हुनुपर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया